दिक्तेल बजारमा जडान गरिएका फायर हाइड्रेन्ट गेट भल्भ सञ्चालनमा

Halesi Khabar
0 Shares

खोटाङ, २५ जेठ । आगलागीको उच्च जोखिममा रहेको दिक्तेल बजारमा जडान गरिएका अग्नी नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) सञ्चालनमा ल्याइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न दश ठाउँमा दिक्तेल शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तरगत जडान गरिएको फायर हाइड्रेन्ट गेट भल्भ बिहीबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको गरिएको हो ।

दिक्तेल बजारमा आगलागी भएकोबेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्नेगरी जडान गरिएको फायर हाइड्रेन्ट गेट भल्भ सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले उद्घाटन गर्नुभएको छ । खानेपानी आयोजनाको पाइपमा फायर हाइड्रेन्ट गेट भल्भ जडान गरेर करिब ३०० मिटर वरपरको क्षेत्रमा हुने आगलागीका घटनालाई सहजै नियन्त्रण गर्नेगरी दिक्तेल बजारमा हाइट्रेन्ट गेट भल्भ जडान गरिएको हो ।

ाँघुरो सडक, जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घरहरु भएका दिक्तेल बजारमा वर्षेनी आगलागीका घटना हुँदा लाखौँको क्षति हुने गरेको छ । हाइड्रेन्ट गेट भल्भ जडान गर्नका लागि नगरपालिकाको तर्फबाट रु १५ लाख र बाँकी शहरी खानेपानी आयोजनाको बजेट लगानी गरिएको छ ।

विशेष किसिमको पाइप जडान गरिएको फायर हाइड्रेन्ट गेट भल्भमार्फत करीब १० मिनेटमै एउटा दमकल (बारुणयन्त्र)मा पानी भर्न सकिनेगरी सञ्चालनमा ल्याइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “नगरपालिका र शहरी खानेपानी आयोजना उपभोक्ता समितिबीचको सहमति अनुसार दिक्तेल बजारको विभिन्न दश ठाउँमा हाइड्रेन्ट गेट भल्भ जडान गरिएको छ”, उहाँले भन्नुभयो, “पहाडी जिल्लामा दिनानुदिन आगलागीका घटना बढिरहेको बेला दिक्तेल बजारमा जडान गरिएका फायर हाइड्रेन्ट गेट भल्भ सञ्चालनमा ल्याइएसँगै स्थानीय बासिन्दासमेत हर्र्षित भएका छन् ।”

दिक्तेल बजारमा वि.सं. २०७२ पुस–२ गते रत्नपार्कका व्यापारी हीरालाल पुरीको घरबाट शुरु भएको आगलागीबाट पुरीसहित सात स्थानीय बासिन्दाको घरमा क्षति पुगेको थियो । विद्युत फल्ट भएर शुरु भएको आगलागी नियन्त्रण गर्न तत्कालीन दिक्तेल नगरपालिकाको दमकलमा पानी नहुँदा ठूलो क्षति पुगेको थियो ।

दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवम् शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ २०७५ चैत–१४ गतेदेखि खानेपानी तथा सरसफाइ योजनाको काम शुरु गरिएको थियो । सोही खानेपानी आयोजना अन्तरगत दिक्तेल बजारका विभिन्न ठाउँमा अग्नी नियन्त्रणका लागि फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो ।
नेपाल सरकारको ७०, काठमाडौँ महानगरपालिकाको नगर विकास कोषमार्फत २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा आयोजनाको काम गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष नवराज जोशीले बताउनुभएको छ । खानेपानी आयोजनामार्फत मुहान संरक्षण तथा नयाँ मुहान थप, ट्याङ्की निर्माण, घरघरमा नयाँ धारा विस्तार तथा धारामा मिटर जडान लगायतका काम गरिएको छ ।

पन्ध्र वडा वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजार तथा बाम्राङका स्थानीय बासिन्दालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी वितरण गर्ने लक्ष्यका साथ रु २२ करोड ५५ लाख ५८ हजार लागतमा खानेपानी आयोजना सञ्चालन गरिएको छ । आशिष निर्माण सेवा कम्पनीले जिम्मा लिएको उक्त आयोजना सञ्चालनमा आएपछि स्थानीय उपभोक्तालाई समेत राहत मिलेको छ ।

 

तपाईको प्रतिक्रिया