खोटाङ, २५ जेठ । सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरुले घेराबन्दी गरेको आरोप लगाउनुभएको छ । खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नी नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले तीनवटा सानो जहाज किन्ने प्रकृया थालेपछि पापी मनभएकाहरुले घेराबन्दी गरिरहेको बताउनुभयो ।
“घाटामा गएको नागरिक उड्ययन प्राधिकरणलाई आफूले मन्त्रालय सम्हालेको करिब तीन महिनामै रु चार अर्ब ऋण घटाएको छु । अहिले हामी तीनवटा जहाज किन्ने प्रकृयामा छौँ । तर, हवाईजहाज किन्न नदिन संसारभरका पापी मनहरुले घेराबन्दी गरिरहेका छन्”, मन्त्री किरातीले भन्नुभयो, “तपाईहरुको साथ पाएँ भने प्रकृया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिनेगरी जहाज ल्याउँछौँ ।”
मन्त्रालयले खरिद गरेर ल्याइने दुईवटा जहाज पश्चिम नेपालमा र एउटा पूर्वी नेपालको बिराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने मन्त्री किरातीले जानकारी दिनुभयो । “हवाईजहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एकजना सुत्केरी भए पनि उडान भर्नेगरी तयारी थालिएको छ”, मन्त्री किरातीले भन्नुभयो, “म मन्त्री भएर जाँदा हवाईजहाज त बेहोस अवस्थामा भेन्टीलेटरमा सुतिरहेको रहेछ । त्यसलाई हामी उपचार गर्दैछौँ । २२ वटा एयरपोर्ट गौचरणमा परिणत भएको छ । कारण जहाजमाथि ठूलठूलो भ्रष्टाचार भए । पापीको आँखा लागे, लुट्नैसम्म लुटिए । खाने, पिउने र रमाउने ठाउँ त्यही मन्त्रालयलाई बनाए । अब यसरी चल्न दिन्नँ !”
मन्त्री किरातीले खोटाङको तीनवटै विमानस्थलमा नियमित उडान÷अवतरण गर्नेगरी तयारी थालिएको जानकारी दिनुभयो । प्राधिकरणमा विमान नभएकै कारण उडान÷अवतरण हुन नसकेको जानकारी दिनुहुँदै मन्त्री किरातीले अबको केही समयपछि नै खोटाङका तीनवटै विमानस्थलमा नियमित उडान÷अवतरण हुने विश्वस्त पार्नुभयो ।
पर्यटकीयस्थलहरुको अवलोकन भ्रमणमा निस्कनुभएका मन्त्री किरातीले सबै नागरिक असल नियतका साथ अगाडि बढ्ने हो भने, समृद्धि आफूहरुकै पालामा सम्भव रहेको पनि बताउनुभयो । फायर हाइड्रेन्ट गेट भल्भ उद्घाटनपछि जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले भ्रष्टाचार नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
एक अर्को प्रशङ्गमा मन्त्री किरातीले खोटाङ आफ्नो पूख्र्यौली थलो भएकाले खोटाङको समग्र विकासमा आफ्नो कार्यकालमा सकेको सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ । “म भोजपुर जिल्लाबासी हुँ ! मेरा पूर्खाहरु खोटाङबाट भोजपुर बसाइँ सरेर गएका रहेछन् । पूख्र्यौली थलो पहिल्याउँदै खोटाङ आइपुगेको छु”, उहाँले भन्नुभयो, “आफ्नो पूख्र्यौली थलोको विकासका लागि सकेको सहयोग गर्नेछु । म मन्त्री भएर भोजपुरका लागि एउटा पनि योजना पारेको छुइनँ । खोटाङलाई यस वर्षमात्रै धेरैवटा योजनाहरु पारेको छु । यसलाई कार्यान्वयन गर्ने जिम्मा तपाईहरुको हो ।”
अन्तरक्रिया कार्यक्रममा सहभागी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्व सांसद टंक राईले पर्यटन विकासका नाममा पूराना संरचनालाई ध्वस्त पार्ने योजना नबनाउन मन्त्री किरातीलाई सुझाव दिनुभयो । “हाम्रो ठाउँ आफैमा पर्यटकीय क्षेत्र हो । यसलाई प्रचारप्रसार गर्न सके संसारका पर्यटक भित्र्याउन सकिन्छ”, उहाँले भन्नुभयो, “त्रिधार्मिकस्थल हलेसी खोटाङमै छ । यसलाई मात्र प्रवद्र्धन गर्न सकेमा खोटाङको मात्र नभइ प्रदेशकै समृद्धिमा सहयोग पुग्नेछ ।”
अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतले आ–आफ्नो धारण राखेका थिए । अन्तरक्रिया कार्यक्रमपछि मन्त्री किराती किराँत समुदायको उद्गमस्थल तुवाचुङ–जायाजुममा आयोजित चुल्हा पूजा तथा साकेला सिली प्रदर्शनीमा सहभागी हुन बिहीबार नै त्रिधार्मिकस्ल हलेसी प्रस्थान गर्नुभएको छ ।