गाँजा खेतीलाई वैधता दिएर व्यवसायिक रुप दिनुपर्छ : पूर्वमन्त्री पासाङ

Halesi Khabar
0 Shares

खोटाङ, २५ जेठ । प्रतिनिधिसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ले गाँजा खेतीलाई वैधता दिएर व्यवसायिक रुप दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा जारी बिहीबारको बैठकलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्रीसमेत रहनुभएका पासाङले आर्थिक हिसाबले फाइदा हुने जाँगा खेतीलाई सरकारले वैधता दिएर व्यवसायिक रुप दिनुपर्ने बताउनुभएको हो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा समावेश जाँगा खेती सम्बन्धी कार्यक्रमलाई वैधता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय किसानलाई जङ्गली जनावर बाँदरले दुःख दिइरहेको उल्लेख गर्नुहुँदै उहाँले बाँदरलाई बेच्न कि मार्न पाउनुपर्ने कानून बनाउन आवश्यक रहेको बताउनुभयो ।

बाँदर आतङ्कका कारण धेरै मानि बसाइँ सर्ने अवस्थामा रहेको जानकारी दिनुहुँदै उहाँले कानून संशोधन गरेरै भएपनि किसानको समस्या हल गर्नुपर्ने बताउनुभयो । सम्बोधनको शुरुमै कोशी प्रदेशमा उत्पन्न विवाद समाधानका लागि सरकार गम्भीर हुनुपर्ने पनि बताउनुभएको छ ।

“विवाद समाधानको उपर्युक्त माध्यम भनेको वार्ता नै हो । असन्तुष्ट पक्षसँग तत्काल वार्ता गरेर विवाद समाधान गरियोस”, उहाँले भन्नुभयो, “सरकारले ध्यान नदिने हो भने, शहीद लाजेहाङजस्तै धेरैको ज्यान जाने सङ्केत देखा परेको छ । बेलैमा ध्यान दिइयोस् ।”

सवारी साधनको नाममा फजुल खर्च बढिरहेको जनाउनुहुँदै उहाँले मितव्ययितामा ख्याल गर्नुपर्ने बताउनुभयो । “पन्ध्र÷सोह्र करोडको गाडी चड्ने गरिएको छ । ७०÷८० लाखको गाडी चड्दा पनि हुन्छ”, उहाँले भन्नुभयो, “सरकारी खर्चमा मितव्ययिता कायम गर्नुपर्ने देखिएको छ । यसतर्फ सरकारले ध्यान दिन जरुरी छ ।”

सरकारले ल्याएको अहिलेको बजेट समसामयिक रहेको उहाँले दावी गर्नुभएको छ । सरकारको नयाँ नीति तथा कार्यक्रममा उद्यमशीलता तथा नवप्रवद्र्धन सम्बन्धी विषयहरु समेटिएकाले कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने उहाँले बताउनुभयो ।

सम्बोधनको अन्त्यमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीविरुद्ध व्यङ्ग्य प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको व्यङ्ग्य जस्ताको तस्तै तल प्रस्तुत गरिएको छ ।

म मनकन्चे । यो सदनमा यस्तै देखिन्छ । राम्रो जति मेरो, नराम्रो जति सबै तेरो । मेरो मनकन्चे भनाइ यस्तो छ :
तिमीहरु जनयुद्ध लडेजस्तो हो र ? म त पटकपटक संसद विघटन गर्ने पो हो त ! तिमीहरु गणतन्त्र ल्याउनेजस्तो हो र ? म त बयलगाडा चढेर अमेरिका पुगिन्छ र भन्ने पो हो त !, तिमीहरु नक्कली भुटानी शरनार्थी बनाउने भ्रष्टाचारीलाई कारबाही गर्ने जस्तो हो र ? म त भ्रष्टाचारी कार्यकर्तालाई संरक्षण गर्ने पो हो त !

तिमीहरुजस्तो १८ घण्टे लोडसेडिङ अन्त्य गर्ने हो र ? म त जनताको घरको चुल्हामा ग्याँसको पाइप विस्तार गर्ने पो हो त !, तिमीहरु पूर्व–पश्चिम मध्यपहाडी सडक विस्तार गर्नेजस्तो हो र ? म त प्रधानमन्त्री कार्यालयमा बसेर कैयौँ योजना शिलान्यास गर्ने पो हो त !, तिमीहरु दश वर्षमा दश हजार मेगावाट विद्युत बेच्न सम्झौता गर्नेजस्तो हो र ? म त महाकाली बेचेर खरबौँ नाफा कमाउने पो हो त !

तपाईको प्रतिक्रिया