दूधकोशीको पानी लिफ्ट गरेर भुम्जुडाँडामा निकाल्ने प्रयास सफल

Halesi Khabar
0 Shares

खोटाङ, २६ जेठ । सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत हलेसी पम्पिङ खानेपानी आयोजना अन्तरगत दूधकोशीको पानी भुम्जुडाँडामा निकाल्ने प्रयास सफल भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो वडा नं.–२ डिकुवास्थित भुम्जुडाँडामा सफलतापूर्वक निकालिएको हो ।

दूधकोशीबाट १५० एमएमको फलामे पाइपमार्फत चार हजार ५०० मिटरमाथि रहेको भुम्जुडाँडामा पानी निकाल्ने प्रयास सफल भएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख इन्जिनियर हिराकाजी महर्जनले बताउनुभयो । “दूधकोशीबाट छवटा लिफ्ट ट्याङ्की हुँदै भुम्जुडाँडामा बनाइएको सातौँ ट्याङ्कीमा पानी निकाल्न सफल भइएको छ । भुम्जुडाँडामा पानी निकाल्ने प्रयासको सफल परीक्षण भएसँगै स्थानीयमा उत्साह जगाएको छ”, उहाँले भन्नुभयो, “दूधकोशीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तिमा तीन हजार ७५६ घरधुरी उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको छ । अब त्यो लक्ष्य चाँडै पूरा हुने अवस्थामा पुगेको छ ।”

 

बृहत हलेसी पम्पिङ खानेपानी आयोजनाका लागि नदी किनारमा तीन लाख क्षमताको एउटा र भुम्जुडाँडामा चार लाख लिटर क्षमताको तीन वटा ट्याङ्की बनाइएका छन् । त्यसको बीच भागमा पर्ने विभिन्न पाँच ठाउँमा एक–एक लाख लिटर क्षमताका लिफ्ट ट्याङ्की निर्माण गरिएको जनाइएको छ ।

दूधकोशीको पानीलाई डिकुवाको भुम्जुडाँडा र वडा नं. ७ महादेवस्थानको काभ्रेडाँडामा निकालेर वितरण गर्ने लक्ष्यका साथ वि.सं. २०७४ सालदेखि लिफ्टिङ खानेपानी आयोजनाको काम अघि बढाइएको थियो । दूधकोशीको लुलिमाबाट भुम्जुडाँडा र महादेवबेँसीबाट काभ्रेडाँडामा लिफ्ट गरेर पानी निकाल्ने मेनलाईनको ठेक्का दिवा–महादेव–खिम्ती जेभीले धमाधम गरिरहेको छ ।

उता, महादेवबेँसीबाट काभ्रेडाँडामा पानी निकाल्नका लागि पम्प जडानको काममात्र बाँकी रहेको आयोजना प्रमुख महर्जनले बताउनुभएको छ । भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने वितरणलाईनको ठेक्का लामा कन्ट्रक्सन र काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मङ्गलटारमा वितरण गर्ने कामको ठेक्का रमन–सगरमाथा–घिमिरे जेभीले लिएको छ ।

हलेसी बृहत पम्पिङ खानेपानी आयोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)मा ट्रिटमेन्ट प्लान्ट (प्रशोधन केन्द्र)का स्किम छुट भएकाले पुनः स्टिमेट गरेर मन्त्रालय पठाइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ । कार्यालय प्रमुख महर्जनका अनुसार ट्रिटमेन्ट प्लान्टका लागि जग्गा व्यवस्था गरेर रु १९ करोड ९५ लाखको स्टिमेट पेश गरिएको हो ।

दूधकोशीको पानी तानेर सिधै उपभोग गर्न उपयुक्त नहुने भएकाले ट्रिटमेन्ट अनिवार्य गर्नुपर्ने अवस्था आएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताउनुभयो । “ट्रिटमेन्ट प्लान्ट स्थापनाका लागि लिलिमाबेँसी र महादेवबेँसीमा नौँ÷नौँ रोपनी जग्गा व्यवस्था गरिएको छ”, हलेसी तुवाचुङ नगरपालिकाका पूर्व नगर प्रमुखसमेत रहनुभएका अध्यक्ष राईले भन्नुभयो, “हाम्रो नगरपालिकाका ११ वटै वडाका स्थानीय बासिन्दाले खानेपानीको समस्या भोग्दै आएका छन् । ढिलै भएपनि दूधकोशीको पानी पम्पिङ गरेर पाइप लाइनमार्फत स्थानीय बासिन्दाको घरघरमा वितरण गर्नेगरी बृहत खानेपानी आयोजनाको काम सफल हुँदै जाँदा उनीहरुसमेत हर्षित छन् ।”

नेपाल सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु ९६ करोड ४५ लाख लगानीमा सम्पन्न गर्नेगरी पाँच वर्षअघि निर्माण शुरु गरिएको उक्त बृहत हलेसी पम्पिङ खानेपानी आयोजनाको काम ९० प्रतिशत पूरा भएको जनाइएको छ । पाइपलाइनको काम उपभोक्ता आफैले गर्नुपर्ने भएकाले मेनलाइनको पानी सफलतापूर्व निस्किएपछि स्थानीय बासिन्दाहरु आ–आफ्नो क्षेत्रमा पाइपलाइनको काम गरिरहेका छन् ।

वर्षादको समयमा घरको छानामा पाइप जडान गरेर जम्मा भएको पानी उपभोग गर्ने हलेसी क्षेत्रका स्थानीय बासिन्दा हिउँदको समयमा घटौँ लगाएर दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका छन् । कतिपय स्थानीय बासिन्दाले ट्याक्टर तथा ट्रकमार्फत ड्रममा भरेर दूधकोशीकै पानी ल्याएर उपभोग गर्ने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया