खोटाङ, ३२ जेठ । कोशी प्रदेश सरकारले सांसद क्षेत्र विकास कोष कार्यक्रम लागू गरेको छ । बिहीबार आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेट पेस गर्दै प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री हिक्मतकुमार कार्कीले सांसद क्षेत्र विकास कोष कार्यक्रम ल्याउनुभएको हो ।
सांसद क्षेत्र विकास कोष कार्यक्रमका लागि रु एक अर्ब ५० करोड विनियोजन गरिएको छ । यो कार्यक्रमअन्तर्गत छुट्याइएको बजेट सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुल, बाटो तथा अन्न विभिन्न पूर्वाधार निर्माणमा खर्च गर्ने गरेका छन् ।
जसमा प्रत्यक्ष निर्वाचित सांसदले रु दुई करोड र समानुपातिक सांसदले रु एक करोड खर्च गर्न पाउनेछन् । दुईवटा निर्वाचन क्षेत्र रहेको खोटाङबाट प्रदेशसभा सदस्यमा काँग्रेसबाट भूपेन्द्रकुमार राई र एमालेबाट पाँचकर्ण राई ‘पिके’ रहनुभएको छ ।