भीर मौरीको मह सिकार : साहसिक र मनोरञ्जन हुने भएकाले युवा पुस्ता आकर्षित

Halesi Khabar
0 Shares

खोटाङ, ३२ जेठ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भीर मौरीको मह सिकार गरेको ४५ वर्ष भयो । भीर मौरीको मह सिकार गर्न छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने तीर्थमनीलाई शुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निबासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहनुभएको छ ।

नाताले मामा÷भाञ्जा (हस्तराम मामा र तीर्थमनी भाञ्जा)ले प¥याङ (मालिङ्गोको चोया प्रयोग गरेर बनाइएको भ¥याङ)बाट अक्करे भीर (टेक्ने र समाउने दुवै ठाउँ नभएको अप्ठ्यारो भीर)मा चढेर जोखिमपूर्ण अवस्थामा मह काढ्ने पेसा गर्दै आउनुभएका छ । उनीहरूको साथमा सुतारे, दोभाषे (कोट भाषामार्फत सहकर्मीलाई जानकारी दिने व्यक्ति) र अन्य दर्जनबढी सहयोगीले पनि साथ दिँदै आएका छन् ।

पछिल्लो समय अक्करे भीरबाट मौरीको मह सिकार गर्ने पेसा साहसिक र मनोरञ्जनको माध्यम बनेकाले युवा पुस्ता आकर्षित बनेका छन् । परापूर्वकालदेखि आफ्नो सँस्कारको रुपमा भीर मौरीको मह सिकार गर्दै आएका उनीहरु (तीर्थमनी र हस्तराम)लाई अहिले सोही स्थानका ३५ वर्षीय धनकुमार राई, ३४ धर्मसिं राई, ३१ वर्षी किशोर राई, २८ वर्षीय तीलक राई, २६ भैराज राई, २२ वर्षीय नैराज राई, २१ वर्षीय चुमाहाङ राई, ३८ वर्षीय किरण राई, ३७ वर्षीय जवानसिं राई, २२ वर्षीय रोशन राई, ३३ वर्षीय विशाल राई, र ३१ वर्षीय हरिध्वज राई पालो दिएका हुन् ।

भीर मौरीको मह सिकार गर्नका लागि फेदीमा स्थायी घर भइ राजधानी काठमाडौँ लगायत विभिन्न शहरहरुमा बसोबास गर्दै आएका स्थानीय युवा सिजन–सिजनमा गाउँ फर्किने गरेका छन् । शुक्रबारे फेदी निबासी राजन राईले आफू भीर मौरीको मह सिकार गर्नकै लागि साथीहरुसँग काठमाडौँबाट गाउँ आएको बताउनुभएको छ ।

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प¥याङ, गादा (सेफ्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरो, लगायतका सामग्रीको सहयोगमा भीर मौरीको मह सिकार गरिन्छ । प¥याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ ।

स्थानीय भाषमा मह निकाल्नेलाई प¥याङ्गे भनिन्छ भने सुताको माध्यमबाट प¥याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने प¥याङेसम्म पु¥याउनेलाई सुतारे भनिन्छ । प¥याङ्गेले भीरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धूवाँ लगाउने लगायत अन्य व्यक्तिलाई सहयोगी भनिन्छ ।

फेदीका दर्जनबढी भीरहरूमा वर्षौँदेखि भीर मौरी बस्ने गरेको पाइएको छ । स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभीर झरना, तेरावास्थित तेरावाभीर लगायतका ठाउँहरुमा वर्षौँ अघिदेखि भीर मौरी बस्दै आएको छ ।

भीर मौरीले जडीबुटीजन्य फूलहरूबाट मह बनाउने भएकाले भीर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ । धेरै खाँदा मात लाग्ने विशेषता भएको भीर मौरीको मह हाडजोर्नी, नसा सम्बन्धी समस्या, युरिक एसिड, प्रेसर लगायतका दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञहरुले बताउने गरेका छन् ।

फेदीमा पुस्तौँदेखि सँस्कारका रुपमा भीर मौरीको मह निकालिँदै आएको स्थानीय मह सिकारी हस्तरामले बताउनुभएको छ । “मैले वि.सं. २०३५ सालदेखि यो पेसा शुरु गरेको हुँ । अहिले युवा पुस्ता यसमा आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई हामीले नै सिकायौँ । युवा पुस्ता पेसेवर बन्दा आफूहरुलाई खुसी लागेको छ ।”

केपिलासगढी गाउँपालिकाकै वडा नं.–७ सुङ्देल र भोजपुरका विभिन्न ठाउँहरूमा भीर मौरीको मह झिक्न जाने गरिएको फेदीका युवा सिकारी किशोरले बताउनुभयो । “भीर मौरीको महको माग दिनानुदिन बढिरहेको छ । माग धान्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “मह काढेकै ठाउँमा एउटा जम्बो बोत्तल (ड्यूको २.२५ लिटरको बोत्तल)को रु छ हजारमा बिक्री हुन्छ । यस वर्ष भीर मौरीको थोरै पोला भएकाले माग गर्ने सबैलाई पु¥याउन सकिएन । एउटा पोलामा कम्तिमा पनि आठ÷दश बोत्तल मह हुन्छ ।”

भीर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्ला लगायत गाउँभरीका स्थानीय बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजा लगायत लिएर उत्सवको रुपमा भेला हुने गरेका छन् । फेदीमा उत्पादित भीर मौरीको मह जिल्लाको प्रमुख व्यपारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँ, बेलायत, हङकङ, सिङ्गापुर लगायतका ठाउँहरुमा नि¥यात हुने गरेको छ ।

फेदीमा पाइने भीर मौरीको मह सिकार गर्ने प्रचलनलाई मुन्धुम ट्रेल (पद मार्ग)सँग जोडेर पर्यापर्यटनको रुपमा विकास गर्न सकेमा स्थानीय बासिन्दाको लागि ठूलो आम्दानीको स्रोत हुने स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र)का युवा नेता लक्ष्मण राई ‘समिप साम्पाङ’ले बताउनुभएको छ । “फेदीमा साहसिक र भरपूर मनोरञ्जन गर्न पाइने भीर मौरीको मह सिकार गर्न पाइन्छ । भीर मौरी रहेको स्थान नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धम ट्रेलभन्दा करिब एक घण्टा टाढा ओरालो झर्दा पुगिन्छ । मुन्धुम ट्रेल आउने पर्यटकलाई एक रात तेरावामा बास बसाएर भोलिपल्ट भीर मौरीको मह सिकार गराउन सकिन्छ”, माओवादी केन्द्र केपिलासगढी गाउँपालिका सचिवसमेत रहनुभएका समिपले भन्नुभयो, “भीर मौरीको मह सिकार गर्न चाहना राख्ने पर्यटकहरूका लागि सरकारले विशेष योजना बनाएर पर्यटन प्रवद्र्धन गर्नुपर्छ । यसका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले ध्यान दिन जरुरी छ ।”

पछिल्लो समय जलवायु परिवर्तन तथा नेपाली कागज उद्योगमा प्रयोग गरिने रासायनिक पदार्थका कारण फेदीमा भीर मौरी मासिदै गएको वृद्ध सिकारी तीर्थमानले बताउनुभयो । “पहिलेपहिले एउटै भीरमा नौँ÷दश पोला मैरी हुन्थ्यो । एउटा भीरको मह काढ्न हप्ता दिनसम्म लाग्थ्यो”, उहाँले भन्नुभयो, “अहिले विभिन्न कारणले भीर मौरी घट्दै गएको छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।”

भीर मौरीको मह सिकार गर्ने प्रचलनलाई पर्यटनसँग जोड्नेगरी गाउँपालिकाबाटै योजना बनाउने तयारी गरिएको फेदीका वडाध्यक्ष नीरकुमार राईले बताउनुभएको छ । “हामीले भीर मौरी संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजना बनाउने तयारी गरेका छौँ । भीर मौरीको महको माग पनि प्रशस्त भएकाले स्थानीय बासिन्दालाई मात्र नभइ गाउँपालिकाको लागि समेत यसैबाट मनग्गे आम्दानी हुने सम्भावना देखिएको छ”, उहाँले भन्नुभयो, “पराम्परागतरुप गरिँदै आएको भीर मौरीको सिकारलाई कसरी परिस्कृत गर्ने भन्नेमा पनि छलफल भइरहेको छ । परम्परागत रुपमा सिकार गर्दा एक पटकमा धेरी मौरीहरु मरेको पाइयो । यसले अन्य पोला विस्तारमा असर पुगको हामीले महसुस गरेका छौँ । आगामी दिनमा कम क्षति हुनेगरी सिकार गर्ने उपायसमेत खोज्दै छौँ ।”

फेदीका स्थानीय बासिन्दाले उँधौलीको समयमा कातिक–मङ्सिर तथा उँभौलीको समयमा जेठ–असारगरी दुईचोटि भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक सिजनमा कम्तिमा पनि रु पाँच लाखदेखि रु छ लाखसम्मको मह सिकार हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

किराँत राई (साम्पाङ) समुदायले भीर मौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत सँस्कारसँगसमेत जोड्ने गरेका छन् । उनीहरुले भीरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात पितृ (दिबङ्गत भएका व्यक्ति)लाई चढाएपछि मात्र प्रसादको रुपमा ग्रहण गर्ने गरेका छन् ।

दश स्थानीय तह रहेको खोटाङमा भीर मौरी केपिलासगढी गाउँपालिमामात्र पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई पर्यटनसँग जोड्न सकेमा जिल्लाकै आर्थिक समृद्धिमा टेवा पुग्ने पर्यटन व्यवसायीहरुले बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया