खोटाङ, १ असार । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा ‘पीडित पुनः भेट कार्यक्रम–२०८०’को शुरुवात गरेको छ । पीडित व्यक्ति तथा समुदायको वर्तमान अवस्था, कानूनी उपचार तथा क्षतिपूर्ति पाए÷नपाएको बुझ्न र नपाएको भए दिलाउन पहल गर्ने उद्देश्यका साथ जिल्लाका दशवटै स्थानीय तहमा प्रहरीले शुक्रबारदेखि पीडित पुनः भेट कार्यक्रम–२०८० शुरुवात गरेको हो ।
औपचारिक रुपमा शुरुवात गरिएको पीडित पुनः भेट कार्यक्रमका लागि जिल्लाका दशवटै स्थानीय तहमा एक÷एकजना तथा जिल्ला प्रहरी कार्यालय खोटाङमा एकजनागरी जम्मा ११ जना पीडित सम्पर्क अधिकृत तोकिएको प्रहरीले जनाएको छ । उनीहरुले हरेक महिनाको एक दिन पीडित परिवार तथा व्यक्तिको घरमा पुगेर कानूनी परामर्श दिनुका साथै पीडितको वर्तमान अवस्था बुझ्ने काम गर्ने जनाइएको छ ।
कार्यक्रमको पहिलो दिन जिल्लाका ३४ जना पीडितलाई प्रत्येक्ष भेट गरेर उनीहरुको अवस्था, वर्तमान अपेक्षा र कानूनी उपचारको बारेमा जानकारी लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो । “अहिलेसम्म प्रहरीमा पीडितको अवस्था बुझ्ने कुनै कार्यक्रम छैन । पीडितका लागि प्रयाप्त समय दिन नसक्दा पीडकहरुले दबाब, प्रभाव र आर्थिक चलखेलसमेत गरेर दण्डहिनता सिर्जना गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “पीडितलाई बिना प्रभाव उचित न्याय र क्षतिपूर्ति दिलाउन तथा पीडकलाई कानूनले निर्धारण गरेअनुसार कारबाहीको दायरामा ल्याउने उद्देश्यले नेपाल सरकारले लागू गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमसँगै जिल्लामा पीडित पुनः भेट कार्यक्रम पनि शुरुवात गरेका हौँ ।”
जिल्लामा लागू गरिएको पीडित पुनः भेट कार्यक्रम अन्य कुनै पनि जिल्ला तथा केन्द्रमा समेत नभएको प्रहरीले दाबी गरेको छ । कार्यक्रमको पहिलो दिन जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको नेतृत्वमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्यगाउँमा सौतेनी आमाबाट पीडित बनेकी १४ वर्षीया विनिता आचार्यालाई भेट गरेर सामाजिक मनोपरामर्श दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
प्रहरीले जिल्लामा शुरुवात गरेको पीडित पुनः भेट कार्यक्रम प्रभावकारी हुने जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहनुभएका प्रजिअ सेढाईले बताउनुभयो । “जिल्लामा अहिलेसम्म पीडितका लागि उद्धार तथा पुनः स्थापित गर्ने कुनै पनि निकाय छैन । जिल्लाका कतिपय पीडित बिस्थापित भएका छन् भने, कतिपयले बहिस्कृत अवस्थामा बसिरहेका छन्”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा प्रहरीले शुरुवात गरेको पीडित पुनः भेट कार्यक्रमले सकारात्मक रुप लिने अपेक्षा गरेका छौँ । यसलाई आगामी दिनमा समेत निरन्तरता दिन समुदायले पनि सहयोग गर्न आवश्यक छ ।”
कार्यक्रममा पीडितलाई भेटेर पीडकमाथि यस्तो किसिमको कारबाही भइरहेको छ भन्ने जानकारीसमेत दिने गरिएको प्रहरीले जनाएको छ । नेपालको संविधानको धारा २१ मा अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी लिन पाउने हक भएअनुसार कार्यक्रममार्फत पीडितलाई सबै विषयमा जानकारी दिने गरिएको प्रनाउ मुकारुङले बताउनुभयो ।
नेपालको संविधानले अपराध पीडितलाई सामाजिक पुनःस्थापना तथा क्षतिपूर्तिसहितको न्यायको हक हुने भनि अपराध पीडितको हकलाई मौलिक हकको रुपमा उल्लेख गरेको छ । अपराध पीडित संरक्षण ऐन २०७५ को परिच्छेद–२ मा पीडितले पीडितमैत्री वातावरण पाउने, गोपनियताको अधिकार, अनुसन्धान सम्बन्धी सूचनाको अधिकार, अभियोजन सम्बन्धी सूचनाको अधिकार, न्यायिक कारबाही सम्बन्धी सूचनाको अधिकार, धारणा व्यक्त गर्ने अधिकार, क्षतिपूर्तिसम्बन्धी जानकारी पाउने अधिकार लगायतका पीडितको हक अधिकारलाई सुनिश्चित गरेको छ ।