खोटाङ, ४ असार । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्याक्टरमा झुण्डिएर यात्रा गरिरहेका भेटिन्छन् । गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवा÷गिटी बोक्न प्रयोगमा ल्याइएको ट्याक्टरमा ओहोरदोहोर गरेर दिन बिताउँदै आएका आशिषको घरमा आठ वर्षीया बहिनी अङ्कुमात्र छन् ।
आमाले दोस्रो विवाह गरेर गएपछि लालनपालन गर्दै आएका बुबालेसमेत आत्महत्या गरेपछि विश्वकर्मा दाजु÷बहिनी आशिष र अङ्कु बिचल्ली भएका छन् । बुबा र आमा दुवै नभएपछि अभिभावकविहीन बनेका आशिष र अङ्कुको लालनपालन तथा शिक्षादिक्षाको व्यवस्थापनमा गम्भीर समस्या सिर्जना भएको छ ।
आमाले छाडेर अर्कैसँगै पोइल गएको केही समयपछि बुबा दिपेश विश्वकर्माले समेत वि.सं. २०७९ चैतमा आत्महत्या गरेको स्थानीयले बताएका छन् । अङ्कु चन्द्रोद्धय आधारभूत विद्यालयको कक्षा–४ मा अध्ययनरत रहेकी छन् भने, आशिष सोही विद्यालयको कक्षा–३ मा अध्ययन गर्दागर्दै ट्याक्टर पछ्याउन थालेका हुन् ।
बाबुआमा दुवै नभएपछि अभिभावकत्वको अभावमा अनाथ बनेका ती बालबालिका नियमित विद्यालय आउन छाडेको विद्यालय प्रशासानले जनाएको छ । बुबा बितेपछि केही समय बालाबेँसीमा रहेका काका लेखनाथ विश्वकर्माको घरमा आश्रय लिन पुगेका उनीहरु पुनः आफ्नै घरमा फर्किएको स्थानीय बासिन्दो बताएका छन् ।
दिपेश वैदेसिक रोजगारीको सिलसिलामा विदेश रहेका समयमा श्रीमतीले दोस्रो विवाह गरेर हिँडेको जनाइएको छ । श्रीमतीले अर्कैसँग विवाह गरेर पोइल हिँडेपछि घर आएर कान्छी श्रीमती ल्याएका दिपेशले पुनः विदेश गएर घर फर्किएको वर्ष दिन नबित्दै आत्महत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
बुबाआमा दुवैजना विहीन बनेका विश्वकर्मा दाजु÷बहिनीलाई व्यवस्थापन गर्न चुनौती रहेको फेदीका वडाध्यक्ष नीरकुमार राईले बताउनुभयो । “वडामा सीमित बजेट हुन्छ । वडा कार्यालयको तर्फबाट केही सम्बोधन गर्न सकिने अवस्था छैन । फेदीमा उनीहरुजस्तै धेरै बालबालिका समस्यामा छन्”, उहाँले भन्नुभयो, “बुबाआमा दुवै भएका बालबालिकाको लागि समेत उपयुक्त ठाउँमा विद्यालय नहुँदा पठनपाठनमा समस्या छ । उनीहरु (आशिष र अङ्कु)को हकमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”
ज्यालादारीको कामसमेत गर्न नसक्ने आशिष र अङ्कु अहिले अरुले दिएको खाना तथा खाजाको भरमा दिन कटाउन बाध्य छन् । अरुको भरमा जीवन धान्दै आएका उनीहरु कतिपय समयमा भोकै रहनेको गरेको पाइएको छ ।