प्रेस युनियन खोटाङका अध्यक्षमा पुुनः चौलागाई निर्विरोध चयन

Halesi Khabar
0 Shares

खोटाङ, ४ असार । नेपाल प्रेस युनियन खोटाङ शाखाको अध्यक्षमा पुुनः उत्तम चौलागाई निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिको सभाहल दिक्तेलमा सोमबार सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट चौलागाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

नेपाली काँग्रेस निकट पत्रकारहरुको सङ्गठन प्रेस युनियन खोटाङको उपाध्याक्षमा चिसाङ शेर्पा र कृष्णकला राई, सचिवमा दिनराज कार्की, सहसचिवमा योगिन राई र कोषाध्याक्षमा एनिशा राईलाई चयन हुनुभएको छ । तेह्र सदस्यीय जिल्ला कार्यसमितिको सदस्यहरुमा मनोज आचार्य, सुनिल श्रेष्ठ, जीवन राई, मिलन आचार्य, राजकुमार कार्की, पुजन राई र कृष्णमाया मगर चयन हुनुभएको छ ।

जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी उपस्थिति रहेको युुनियनको जिल्ला अधिवेशनको उद्घाटन प्रेस स्वतन्त्र सेनानी तथा अग्रज पत्रकार कृष्ण आचार्यले पानसमा बत्ती बालेर गर्नुभएको थियो । युनियनका केन्द्रीय सदस्य गोपाल पोखरेल केन्द्रीय प्रतिनिधिको रुपमा उपस्थिति रहनुभएको अधिवेशन उद्घाटनसत्रका वक्ताहरुले पत्रकारिता पेशालाई मर्यादित र विश्वसनीय बनाउन सुझाव दिएका छन् ।

उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका नेतृ डिल्लिमाया आचार्य, नेकपा एमालेका अध्यक्ष रामप्रसाद दङ्गाल, नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, राप्रपाका जिल्ला अध्यक्ष ललितकुमार राई लगायतले शुुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर प्रमुख तीर्थराज भट्टराई, केपिलासगढी गाउँपालिका प्रमुख समिर राई, अग्रज पत्रकार भीम राई, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष दमन राई लगायतले समेत अधिवेशन सफलताको शुुभकामना दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया