खोटाङ, ९ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि रु ९८ करोड छ लाख ५७ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ । ‘नगर हाम्रो प्राण, नगरमै छ जीन्दगी, विकासमा छ ध्यान’ भन्ने नाराका साथ कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर निर्माण गरिएको नीति, कार्यक्रम तथा बजेट शनिबार पेश गरिएको हो ।
‘उत्पादनमा कृषकको हात, कोही पनि नबसौँ खाली हात’ भन्ने नाराका साथ नगर प्रमुख तीर्थराज भट्टराईले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । ‘मेरो नगर, म आफै बनाउँछु’ नारा दिइएको नीति तथा कार्यक्रममा स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन गर्दै आत्मनिर्भर गाउँ निर्माण गर्ने लक्ष्य राखिएको छ ।
नरबासीको आर्थिक तथा सामाजिक विकास प्रवद्र्धनका लागि ‘नगर प्रमुखसँग नागरिक कार्यक्रम’ ल्याइने जनाइएको छ । रैथाने बाली प्रवद्र्धन, उन्नत खाद्यान्न बालीको बीउमा उपयोगमा अनुदान, कृतिम गर्भाधान मिसन कार्यक्रम कार्यान्वयन, दूधमा आत्मनिर्भर हुन गाईभैँसी प्रवद्र्धन लगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको छ ।
‘सुशासनयुक्त र भ्रष्टाचारमुक्त’ नगर बनाउने योजनासहित निर्माण गरिएको नगरपालिकाको आन्तरिक आय रु एक करोड ८० लाख रहने अनुमान गरिएको नगर उपप्रमुख विशन राईले पेश गर्नुभएको बजेटमा उल्लेख छ । स्थानीय गौरवका आयोजनाहरुलाई निरन्तरता दिँदै नगरभित्र निर्माण गरिएका सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउनेगरी बजेटको व्यवस्था गरिएको उपप्रमुख राईले बताउनुभएको छ ।
सङ्घीय सरकारबाट रु १३ करोड २४ लाख २९ हजार र प्रदेश सरकारबाट रु एक करोड ९५ लाख ७८ हजार राजश्व प्राप्त हुने अनुमान गरिएको छ । कृषि तथा पशुपालनतर्फ फलफूल प्रशोधन केन्द्र निर्माणका लागि रु एक करोड र कृषि बजार निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।
किराँत ऐतिहासिकस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’को रुपमा विकास गर्नसमेत बजेट व्यवस्था गरिएको नगर उपप्रमुख राईले पस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ । वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिका लागि पुनः एकीकरण परियोजनाका लागि रु ४८ लाख बजेट विनियोन गरिएको जनाइएको छ ।
पर्यटन पूर्वाधारमा कालिका भगवती भन्दिर तथा मझुवागढीको सौन्दर्यकरणका लागि रु एक करोड ५३ लाख ८४, बुइपामा निर्माणाधीन विश्वकै अग्लो यलम्बरको मूर्ति निर्माणलाई निरन्तरताका लागि रु दुई करोड १० लाख बजेट विनियोजन भएको छ । नेर्पामा निर्माणाधीन साकेला भिलेजपार्क (गाउँले उद्यान) निर्माका लागि रु ४६ लाख १६ हजार, नुनथलाको खाम्लामा निर्माणाधीन हँतोलुङ साँकृतिक पार्क निर्माणका लागि रु ८० लाख बजेट विनियोजन भएको छ ।
दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानलाई ‘दिक्तेल रङ्गशाला’को रुपमा विकास गर्नका लागि रु एक करोड ४९ लाख लगायतका अन्य योजनाहरुमा बजेट विनियोजन भएको छ । नगरस्तरीय योजना तथा कार्यक्रमका लागि रु सात करण बजेट विनियोजन गरिएको जनाइएको छ ।
चालु आर्थिक वर्ष नगर प्रहरी भर्नाका लागिसमेत बजेट व्यवस्था गरिएको बजेट वक्तव्यमा जनाइएको छ । आर्थिक वर्ष २०७९÷०८० मा खर्च नभइ बचत हुने अल्या रकम रु सात करोड १५ लाख ३८ हजार हुने अनुमान छ ।