खोटेहाङ, १० असार । खोटेहाङ गाउँपालिकाले शैक्षिक सुधारका लागि सरकारी सेवासुविधा लिएका सबै कर्मचारी, शिक्षक तथा जनप्रतिनिधीहरुको छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले आर्थिक वर्ष ०८०÷०८१ को लागि पेश गर्नुभएको नीति तथा कार्यक्रममा ‘सरकारी सेवा सुुविधा लिएका सबैखालका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरुको सन्ततिलाई आगामी शैक्षिकसत्र २०८१ देखि सामुदायिक विद्यालयमा पढाउने अनिवार्य व्यवस्था मिलाइने छ भनिएको छ ।
यस्तै, नीति तथा कार्यक्रममा गाउँपालिका र मातहत कार्यालयहरुले सार्वजनिक कार्यक्रमहरु गर्दा खादा तथा ब्याच बनाउने कामलाई पूर्णरुपमा निषेध गर्ने उल्लेख छ । यसले गाउँपालिकमा फजुल खर्च बढाउनका साथै तामझाममा समय व्यतित हुने भएकाले गाउँपालिका यस्तो नीति बनाउनुपरेको गाउँपालिका प्रमुख मुक्तिले बताउनुभएको छ ।
गाउँपालिकाले स्वरोजगार तथा सीप प्रवद्र्धनका लागि ढाका बुुनाइ तथा परम्परागत हिसाबले सालको पात प्रयोग गरेर बुन्ने गरिएको दुना तथा टपरीको व्यवसायिक उत्पादन गर्ने नीति ल्याएको छ । गाउँपालिकाले कोसेली घरमार्फत यसको बिक्री वितरणको व्यवस्था मिलाउनेगरी नीति तथा कार्यक्रम ल्याएको छ ।
यसका अलवा गाउँसभाले यस आर्थिक वर्षभित्र गर्ने महत्वपूर्ण कार्यक्रमहरु गाउँसभाबाट पास गरेको छ । गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठ तल प्रस्तुत गरिएको छ ।