खोटाङ, १० असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘हेल्लो डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाबासी कोही पनि स्वास्थ्योपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यसहित आर्थिक वर्ष २०८०÷०८१ का लागि गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटेर उक्त कार्यक्रम ल्याएको हो ।
गाउँपालिका प्रमुख लोकेन्द्र राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र सञ्चालित कुनै एक स्वास्थ्य संस्थामा चौबीसै घण्टा स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना पेश गरिएको छ । यस्तै, गाउँपालिकाभित्र सञ्चालित दुईवटा स्वास्थ्य संस्थामा प्रयोगशाला (ल्याब) सञ्चालन गर्ने, दीर्घरोगीहरुका लागि टोलटोलमा घुम्ती सेवा सञ्चालन गर्ने, गाउँपालिकाभित्रका दुईवटा स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न प्रयोग गरिने अल्ट्रासाउण्ड सञ्चालन गर्ने, गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाबाट बाहिर लानुपर्ने अवस्थाका गर्भवतीलाई गाउँपालिकाको एम्बुलेन्समार्फत निःशुल्क आवतजावत गराउने लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।
शैक्षिक क्षेत्रको सुधारका लागि स्नातक तह सञ्चालन गर्न चाहने विद्यालयका लागि प्रस्तावनाको आधारमा आवासीय विद्यालयको रुपमा विकास गर्ने, विद्यार्थीलाई माथिल्लो तह अध्ययनका लागि प्रोत्साहन गर्न छात्रवृत्तिको व्यवस्था गर्ने, सबै विद्यालयमा विषयगत शिक्षक व्यवस्था गर्न पहल गर्ने, शिक्षकको कार्यसम्पादनलाई विद्यार्थीको सिकाइ उपलब्धीसँग जोड्न नीति लिइने, करार शिक्षक तथा कर्मचारी नियुक्तिलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धात्मक बनाउने लगायतका नीति पारित गरिएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि रु ५० करोड २१ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपप्रमुख अरुणा थापामगरले सङ्घ, प्रदेश र स्थानीय सरकारको मौज्दात बजेटलाई समेटेर गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम यस प्रकार रहेको छ ।