साकेलामा अन्यत्रबाट बसाइँ सरेर आउने परिवारलाई रु पाँच हजार

Halesi Khabar
0 Shares

खोटाङ, ११ असार । साकेला गाउँपालिकाले बसाइँ सर्नेहरुको सङ्ख्या बढिरहेको कारण जनसङ्ख्या दिनानुदिन घटिरहेको अवस्थामा जनसङ्ख्यालाई सन्तुलनमा राख्न आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा नयाँ नीति अपनाएको छ । गाउँपालिकाले घट्दो जनसङ्ख्यालाई सन्तुलनमा राख्न अन्यत्रबाट बसाइँ सरेर आउने प्रत्येक परिवारलाई सम्मान स्वरुप रु पाँच हजार नगद रकम उपलब्ध गराउने नीति अघि सारेको हो ।

बसाइँसराइलाई न्यूनीकरण गर्नका लागि आधुनिक उपकरणसहितको स्वास्थ्य सेवा, रोजगारी, गुणस्तरीय शिक्षा, सडक सुविधा लगायतको कार्यलाई प्राथमिकता दिएर काम अघि बढाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । ‘सुसंस्कृत, संस्थागत र समृद्ध साकेला’ भन्ने मूल नाराका साथ सम्पन्न १३ औँ गाउँसभाले आवधिक योजनामा समेटिएका गौरवका योजनाहरुलाई प्राथमिकता दिँदै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वडामात्र रहेको) साकेला गाउँपालिकाले रु ३३ करोड ८८ लाख ८१ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षको लागि गाउँपालिकालाई वित्तीय समानिकरण अनुदान अन्तरगत रु सात करोड ११ लाख, राजश्व बाँडफाँडबाट रु छ करोड ७९ हजार रकम प्राप्त हुने अनुमान गरिएको छ भने सशर्त अनुदान अन्तरगत रु १६ करोड ४१ लाख तथा विशेष अनुदान अन्तरगत रु एक करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान रु ४० लाख ९४ हजार, सवारी करबाट रु २७ लाख ५३ हजार, प्रदेश सशर्त अनुदानतर्फ रु २९ लाख २५ हजार र पूँजीगत तर्फ रु ३८ लाख ३० हजार रकम प्राप्त हुने अनुमान गरिएको गाउँपालिका उपप्रमुख बिर्सिका राईले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ । गाउँपालिकालाई सङ्घको समपुरक अनुदान रु एक करोड ३५ लाख प्राप्त भएको छ भने गाउँपालिकाको आन्तरिक आम्दानी रु १५ लाख प्रक्षेपण गरिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० मा रु ३७ करोड ७४ लाख ७५ हजार रकम विनियोजन गरेकोमा असार–८ गतेसम्म रु २६ करोड ४७ लाख १८ हजार अर्थात कूल बजेटको ६२ दशमलव ४५ प्रतिशतमात्र खर्च गरेको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रस्तुत नीति, कार्यक्रम तथा बजेटलाई गाउँसभाले बहुमत सदस्यले पारितसमेत गरेको छ ।

त्यस्तै उपप्रमुख राईले विनियोजन विधेयक–२०८० र आर्थिक ऐन–२०८० लाई समेत सभामा पेश गर्नुभएकोमा दुवै विषयलाई सभाबाट बहुमतले पारित गरेको छ । सभाध्यक्ष एवम् गाउँपालिका प्रमुख रविप्रकाश राईले साकेलाको गौरवको योजनाहरुलाई पूरा गर्न सङ्घ तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गरिने बताउनुभएको छ ।

तावाभञ्ज्याङ क्षेत्रमा बृहत्त पर्यटन पूर्वाधार विकास अन्तरगत हाल तावाताल निर्माणको मात्र विस्तृत परियोजना तयार भइसकेकाले यसलाई अध्ययन गरि आवश्यकता अनुसार परिमार्जन गरि कार्य अघि बढाउनने उहाँले बताउनुभयो । त्यस्तै, मपारुङ, धन्नेश्वरी गुफा, साकेला पार्क, लामदुवाली, तावादोभान लगायतलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने समेत उल्लेख गर्नुभएको छ ।

साकेलाको बृहत पर्यटकीय क्षेत्रको विकास गरी आगामी चार वर्षभित्र नमूना पालिका निर्माण गर्न आवधिक योजनामार्फत समेटिएका पूर्वाधारहरुमध्ये पालिकाको सिमानामा साकेला ट्रेल र साँस्कृतिक भिलेज निर्माण तथा पालिकालाई डिजिटल पालिका निर्माण गर्ने कार्यलाई प्राथमिकता दिने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया