खोटाङ, ११ असार । ऐसेलुखर्क गाउँपालिकाले गरिबी निवारण तथा रोजगारमूलक योजनालाई प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय आवश्यकता तथा प्राथमिकताको आधारमा योजना छनोट गर्ने नीति लिएको छ ।
स्थानीय स्रोत र साधनले नधान्ने योजनालाई प्रदेश तथा सङ्घीय सरकारसँग माग गरेर पूरा गर्नेगरी योजना छनोट गरिने जनाइएको छ । योजना छनोट गर्दा गाउँपालिकाको आवधिक योजनाले लिएको लक्ष्य र मध्यकालीन खर्च संरचनाबीच तालमेल हुनेगरी छनोट गरिने गाउँपालिका प्रमुख राईले बताउनुभएको छ ।
‘हटाऔँ परनिर्भरता, बढाऔँ आत्मनिर्भरता, कृषि र पशुपालनमा सँधै हाम्रो अग्रता’ भन्ने नाराका साथ प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा ‘एक गाउँ, एक उत्पादन’मा जोड दिइएको छ । उत्पादित कृषि तथा पशुजन्य वस्तुहरुको बजारीकरण र मूल्य समायोजनमा एकरुपता लिइने जनाइएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि रु ४३ करोड १७ लाख ७५ हजार ९०० अनुमानित बजेट पेश गरेको छ । गाउँपालिका उपप्रमुख राजेशकुमार राजभण्डारीले प्रस्तुत गर्नुभएको बजेटमा गाउँपालिकाको आन्तरिक आय रु २५ लाख ५० हजार हुने अनुमान गरिएको छ ।
गाउँपालिकाका लागि सङ्घीय सरकारको राजश्व बाँडफाँडबाट रु सात करोड ४९ लाख १९ हजार ९००, प्रदेश सरकारबाट सवारी कर बाँडफाँडबाट रु २५ लाख ४० हजारगरी कुल राजश्व बाँडफाँडबाट रु सात करोड ७४ लाख ५९ हजार ९०० रहेको छ । सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान रु आठ करोड, सङ्घीय सशर्त अनुदान रु २० करोड ९४ लाख, समपूरक अनुदान रु ८० लाख, विशेष अनुदान रु एक करोड १५ लाख रहेको छ ।
यस्तै, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान रु ४७ लाख सात हजार, प्रदेश सशर्त अनुदान रु २८ लाख ५९ हजार र समपूरक अनुदान रु एक करोड रहेको जनाइएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ मा अल्या हुन आउने रकम रु ९८ लाख अनुमान गरिएको बजे वक्तव्यमा उल्लेख छ ।