मासुमा आत्मनिर्भर बनाउने हलेसी तुवाचुङको नीति तथा कार्यक्रम

Halesi Khabar
0 Shares

खोटाङ, ११ असार । हलेसी तुवाचुङ नगरपालिकाले पशुपालन व्यवसायलाई प्रोत्साहन गर्दै मासुमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम ल्याएको छ । एघारवटा वडा रहेको उक्त नगरपालिकाले मासुमा आत्मनिर्भर बनाउन राँगा, बङ्गुर र कुखुरापालन गर्ने किसानका लागि विशेष अनुदान दिने योजना बनाएको छ ।

यस्तै, नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन व्यवसायिक भैँसीपालन कार्यक्रमलाई दिँदै आएको अनुदान निरन्तर रहने जनाएको छ । स्थानीय गाई, भैँसी र बाख्रामा नश्लसुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकाले रैथाने बाली (जुनेलो, गहत र फापर) संरक्षण तथा प्रवद्र्धन गर्ने भएको छ । जिल्लामा लोपोन्मुख अवस्थामा पुगेको जुनेलो, गहत र फापरलाई नगर प्रमुख विमला राईले आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा समेटिएको हो ।

दीगो विकासको १५ औँ लक्ष्य ‘जमिनमाथिको जैविक विविधता’लाई आत्मसाथ गर्दै बाँझो रहेको जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फ्रुटजस्ता नगदेबाली खेती गर्ने कृषकलाई प्रोत्साहन गरिने जनाइएको छ । नगरपालिकाले बदाम, कपास र केरा खेतीलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने जनाएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि रु ७७ करोड ६४ लाख ८९ हजार बराबरको बजेट पारित गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट राजश्व बाँडफाँड, वित्तीय सामान्यीकरण, विशेष अनुदान, समपूरक अनुदान र सशर्त अनुदान शीर्षकमा प्राप्त बजेट समायोजन गरेर योजना तर्जुमा समितिका संयोजक एवम् उपप्रमुख रमेशकुमार राउतले पेश गर्नुभएको बजेटलाई १३ औँ नगरसभाबाट पारित गरेको हो ।

नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिँदै रु २५ करोड ७७ लाख ८० हजार बजेट विनियोजन गरेको छ । त्यस्तै, कृषि तथा पशु साझेदारी कार्यक्रमका लागि रु दुई करोड ४९ लाख, महिला बालबालिका तथा लक्षित वर्ग कार्यक्रमका लागि रु एक करोड ४९ लाख र स्वास्थ्य तथा आयुर्वेदका लागि रु एक करोड ३६ लाख ५० हजार रकम विनियोजन गरिएको उपप्रमुख राउतले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ ।

नगर समपूरकमा रु तीन करोड ६९ लाख ५० हजार विनियोजन गरेको नगरले विभिन्न वडा कार्यालय निर्माणका लागि रु दुई करोड, प्रशासकीय भवन निर्माणका लागि रु एक करोड विनियोजन गरेको छ । नगर सडक निर्माणका लागि रु ५० लाख, सुरक्षित नागरिक आवास मर्मत संम्भारका लागि रु ५० लाख, पर्यटन, धार्मिक तथा सँस्कृति संरक्षणका लागि ५३ लाख विनियोजन गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया