खोटाङ, ११ असार । जन्तेढुङ्गा गाउँपालिकाले सबै वडाबाट गाउँपालिकाको केन्द्र पुग्ने सडक कालोपत्र गर्ने भएको छ । गाउँपालिकाको १३ औँ गाउँसभामा गाउँपालिका प्रमुख अरुणदेवी राई ‘दिक्षा’ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा यस्तो योजना अघि सारिएको हो ।
गाउँपालिकाले कृषिजन्य उत्पादनको बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्ससमेत सञ्चालनमा ल्याउने भएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई बजारसम्म पु¥याउनका लागि आगामी आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेटमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको हो ।
यस्तै, ‘जनश्रमदान जन्तेढुङ्गाको अभियान’ भन्ने मूल नारालाई गाउँपालिकाभरी हप्ताको एक दिन श्रमदान गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सामाजिक कार्य गरौँ भन्ने अनुरोध गर्दै, प्राधनमन्त्री रोजगार कार्यक्रमबाट राखिँदै आएको बाटो हेरालु राख्ने कार्यलाई खारेज गरिएको जनाइएको छ ।
गाउँपालिकाले पशुपालक कृषकलाई आधुनिक गोठ, खोर, उपयुक्त दाना र घाँस तथा उन्नत जातको नश्लसुधारका लागि बीजको व्यवस्था गर्ने भएको छ । यस्तै, खानेपानी नपुगेका बस्तीमा खानेपानीको व्यवस्था गर्ने, खेतीयोग्य जमिनमा सिचाइँ सुविधा उपलब्ध गराउने, सबै वडाको एक÷एक विद्यालयमा आवासीय भवन निर्माण गर्ने लगायतका योजना पारिएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो ।