गुणतस्तरहीन सडक ग्राभेल गाउँपालिका प्रमुख आफैले भत्काएपछि…

Halesi Khabar
0 Shares

खोटाङ, १२ असार । ठेकेदार कम्पनीको लापरवाहीले दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमीबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ । ठेकेदार कम्पनी एच.एस.एन. कन्ट्रक्सन प्रा.लि. चौदण्डीगढी नगरपालिका–६ उदयपुरको लापरवाहीका कारण सो सडकको तीन दशमलव ३६० किलोमिटर सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको हो ।

निर्माणाधीन सडक गुणस्तरहीन भएको गुनासो आएपछि सोमबार गाउँपालिकाका प्रमुख लोकेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, इन्जिनियर मुकेशकुमार यादवसहितको टोली निर्माणस्थल पुगेको थियो । सडक निर्माणको क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

ठेकेदारले गुणस्तरहीन बालुवाको प्रयोग गरेको पाएपछि आफूहरुले ड्रेन (नाली) भत्काएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो । “गुणस्तहीन बालुवाको प्रयोग गरेर निर्माण गरिएको ड्रेन भत्काएको छु । अब भुक्तानीसमेत रोक्का गर्छौँ”,  उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीलाई गुणस्तरीय बालुवाको प्रयोग गरेर मात्रै संरचना निर्माण गर्न भनेका छौँ । अहिले काम रोकिएको छ ।”

सडकको नालीलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक÷पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयवासीको गुनासो छ । ठेकेदार कम्पनीले रु ४३ लाख ९९ हजार ९६१ को लागतमा वि.सं. २०७९ माघ–५ गते निर्माण कार्य सम्पन्न गर्ने गरी वि.सं. २०७९ जेठ–२ सम्झौता गरेको थियो ।

सम्झौता पश्चात ठेकेदार कम्पनीले काम सुस्त गतिमा अगाडि बढाएको थियो । सुस्त गतिमा निर्माण गरिरहेको कम्पनीले तोकिएको समयमा सडक निर्माण सम्पन्न नगरर्नुका साथै विभिन्न बहाना बनाएर म्याद थप अनुमति लिएर काम गरेको थियो । तर, एक पटक थप भएको म्याद पनि गत जेठ मसान्तमा सकिसकेको छ ।

निर्माणाधीन सडकको अन्य काम भने मापदण्ड अनुसार नै भए पनि नाली निर्माणमा प्रयोग भएको बालुवा खसुरो हुनुपर्नेमा कोशीको मसिनो बालुवा प्रयोग गरेको पाइएको छ । सिमेन्ट र बालुवाको मात्र नमिलाई काम गरेकाले गुणस्तरहीन भएको इन्जिनियर यादवले जानकारी दिनुभयो ।

सडक निर्माणको काम हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति भएको बताइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको उक्त सडक गाउँपालिकाको लगानीमा ग्राभेल गर्नेगरी बजेट विनियोजन गरिएको थियो ।

तपाईको प्रतिक्रिया