खोटाङ, १४ असार । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाले खोटाङमा सञ्चालन गरेको एउटा अस्पतालसहित सातवटा स्वास्थ्य चौकी भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अस्पताल र स्वास्थ्य चौकी भवनसँगै अन्य योजनाका कामसमेत अन्तिम चरणमा पुगेको पाइएको छ ।
आयोजनाले आर्थिक वर्ष २०७९–०८० मा करिब रु २० करोडको लगानीमा दिक्तेलस्थित जिल्ला अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण कार्य अन्तिम चरण पु¥याएको छ । आयोजनाले सो अस्पताल भवन निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य लिइएको जनाइएको छ ।
यस्तै, आर्थिक वर्षभित्र आयोजनाले तीनवटा स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न गरेको छ । केपिलासगढी गाउँपालिकाको बास्पानीमा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्लेमा र ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा स्वास्थ्य चौकी भवन निर्माण गरेर स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।
ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम ७० प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ । जन्तेढुङ्गा गाउँपालिकाको देवीस्थान, खोटेहाङ गाउँपालिकाको वाप्लुखामा स्वास्थ्य चौकी भवन निर्माण कार्य धमाधम भइरहेको र त्यहाँ ८५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले बताएको छ ।
सडकतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा मिलनचोकदेखि सिरवास–मेवाखोलासम्मको सडक निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको अवस्था छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै पाथेका–चिमचिमादेखि सिरुवास सडक स्तरोन्नति, हलेसी तुवाचुङ नगरपालिकाको बडहरेस्थित डाँडागाँउ–लक्ष्मी मावि हुँदै घोपाटार–माझीगाँउ जोड्ने सडक स्तरोन्नतिको काम ९५ प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका आयोजना प्रमुख डा.युवराज पौडेलले खोटाङमा सञ्चालित योजनाको प्रगति उल्लेखीय भएको बताउनुभयो । “हामीले यस आर्थिक वर्षमा खोटाङमा ११ वटा योजना सञ्चालन गरेका थियौँ”, उहाँले भन्नुभयो, “धेरैजसो सम्पन्न भइसके र बाँकी रहेका केही योजना यसै आर्थिक वषैभित्र सम्पन्न गर्छौ र केही योजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।”
कामको जिम्मा लिने निर्माण कम्पनीले काम तीव्ररुपमा र गुणस्तरीय गर्नुपर्छ भनेर ताकेतासँगै निरन्तर अनुगमन गरिरहेको आयोजना प्रमुख पौडेलले बताउनुभएको छ । “बाँकी रहेका योजनाको काम पनि ७० प्रतिशत भन्दामाथि सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “अस्पतालको भवन निर्माण कार्य पनि तीव्रगतिमा निर्माण भइरहेको छ । आगामी आर्थिक वर्षभित्र सम्पन्न गरेर हस्तान्तरण गर्छौँ ।”
जिल्लामा गत आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजना यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जिल्ला आयुर्वेद कार्यालय हुँदै भुते जोड्ने सडक, दोर्पा–दुम्ली सडक, हाटडाँडा काफ्ले गाउँ सडक, जन्तेढुङ्गा गाउँपालिकाको बोपुङ–डुम्रीबोटे हुँदै बङ्सिलाघाट जोड्ने सडक स्तारोन्नतिको काम धमाधम भइरहेको छ ।
हलेसी तुवाचुङ नगरपालिकाको बडहरेस्थित बुद्धेखोला हुँदै लेक–बुङ्देल–बोझे जोड्ने सडक स्तरोन्नतिको ८५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम धमाधम भइरहेको जनाइएको छ । गत आर्थिक वर्षका अन्य योजनाको पनि काम भइरहेको र चाँडै सम्पन्न गर्नमा ध्यान दिइएको आयोजनाले बताएको छ ।