खोटाङ, १७ असार । हलेसी तुवाचुङ नगरपालिकाले नगरबासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यवसायिक बनाउँदै उनीहरुको आम्दानीको स्रोत बढाउन नगरपालिकाले यस आर्थिक वर्षका लागि करिब रु तीन करोड बराबरको बजेटसमेत विनियोजना गरेको छ ।
सुख्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरबासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत उन्नत जातका भैँसी र बाख्रा वितरण गरेको छ । एघार वडा रहेको यस नगरपालिकाले ४४ जना किसानलाई माउ भैँसी वितरण गरेको छ भने, ४४ वटा बोयर जातको बोका वितरण गरेको छ ।
किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिएको नगरपालिकाले यसअघि दुई माउ भँैसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाका संयोजक सन्देश ताम्राकारले जानकारी दिनुभयो । संयोजक ताम्राकारका अनुसार नगरपालिकाको बाहुनीडाँडा, बडहरे, मङ्गलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैँसी पाल्ने किसान पहिचानगरी माउ भँैसी किन्न किसानलाई नै रु एक÷एक लाखका दरले नगद उपलब्ध गराइएको हो ।
नगरपालिकाको सर्शत अनुदान अन्तरगत रु ७५ लाख बजेट ४४ जना किसानलाई भैँसी किन्न एकएक लाख र भैँसीलाई गोठ बनाउन प्रति किसान रु २०÷२० हजार प्रदान गरिएको छ । सर्शत बजेटभित्रैबाट भैँसी पाएका किसानलाई दिनेगरी १० लिटरको ४४ वटा मिल्क क्यान (दूध लगाउने भाडा) खरिद गरिएको छ ।
किसानलाई वितरण गर्नकै लागि १३ वटा च्याप कटर मेशिन पनि नगरपालिकामा ल्याएर राखिएको जनाइएको छ । किसानले पालेका भैँसीबाट उत्पादित दूध सङ्कलन गर्न रु चार लाख बजेट दूध सङ्कलन केन्द्रलाई छुट्याइएको नगरपालिकाले जनाएको छ ।
किसानले उत्पादन गरेका दूध त्रिधार्मिकस्थल हलेसी बजारमा घर भाडामा लिएर दूध सङ्कलन केन्द्र स्थापना गरेर बिक्री गर्ने व्यवस्था मिलाइको जनाइएको छ । किसानले ल्याएका भैँसीमा कृतिम गर्भाधानसमेत गराएर उन्नत जातको पाँडापाँडी उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।
सोही रु ७५ लाख बजेटभित्रैबाट खानेपानीका लागि ३२ वटा हिलट्याङक ल्याएर नगरपालिकामा राखिएको जनाइएको छ । आवश्यकता अनुसार किसानलाई हिलट्याङ्क वितरण गरिने नगरपालिकाले जनाएको छ ।
वैदेशिक रोजगारमा गएका परिवार, स्वास्थ्यको अवस्था कमजोर भएको परिवार, कृषि तथा पशु समूह, कृषि तथा पशुफर्म, कृषकको हकमा १५ माउभन्दा बढी बाख्रा भएको कृषकलाई बोयर जातको बोका वितरण गरिएको छ । बाहुनीडाँडामा आठ, डिकुवामा चार, च्यास्मीटारमा तीन, बडहरेमा तीन, दुर्छिममा सात, मङ्गलटारमा तीन, महादेवस्थानमा दुई, धितुङमा चार, अर्खौलेमा चार र राजापानीमा पाँचवटा बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
रोजगारीको खोजिमा विदेश जाने युवा जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो । “रोजगारीको खोजिमा युवा पुस्ता दिनानुदिन विदेशिनेक्रम बढ्दो छ । युवा जमातलाई रोख्न नगरपालिकाको तर्फबाट कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकामा त्रिधार्मिकस्थल हलेसीसमेत रहेको छ । हलेसी आउने पर्यटकका लागि समेत धान्नेगरी दूध र मासुमा आत्मनिर्भर बनाउनेगरी किसानलाई कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको हो ।”
नगरपालिकाले कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरेसँगै अहिले हलेसी क्षेत्रका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । यसअघिदेखि नै व्यावसायिक रुपमा पशुपालन गर्दै आएका किसान नगरपालिकाले अनुदानमा भैँसी, बोका तथा बाख्रा उपलब्ध गराएसँगै उत्साहित बनेका छन् ।
हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थलसमेत रहेको नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको कार्यक्रमलाई निक्कै महत्वमा साथ हेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीड लाग्ने त्रिर्धामिकस्थल हलेसीमा अहिले दूध र मासु अभाव देखिएको छ ।