खोटाङ, २१ असार । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु जिल्ला कार्यसमिति खोटाङले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि रु एकका दरले सहयोग रकम सङ्कलन गरेको छ । अनेरास्ववियु खोटाङका सह–संयोजक विष्णु उपरकोटीको नेतृत्वमा खटिएका टोलीले बिहीबार दिक्तेल बजारका करिब ३५० घरबाट रु एकका दरले सहयोग रकम सङ्कलन गरेको हो ।
जिल्लामा सङ्कलन भएको सहयोग रकम अनेरास्ववियुको केन्द्रीय कार्यालय काठमाडौँ पठाइने सह–संयोजक उपरकोटीले बताउनुभयो । देशभरबाट सङ्कलन भएको सहयोग रकम अनेरास्ववियु केन्द्रीय कार्यसमितिले राष्ट्रपति पौडेललाई एकमुस्ट हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयम्ले बेहोर्ने भन्दै राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले गत वैशाख–१९ गते प्रेस नोट सार्वजनिक गर्नुभएको थियो । तर, असार–१८ गते परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको स्वास्थ्य उपचार भन्दै रु ५५ लाख दुई हजार २७९ निकासाका लागि अर्थ मन्त्रलाय बजेट तथा कार्यक्रम महाशाखा सिंहदरवारलाई पत्रचार गरेपछि देशभर राष्ट्रपतिको उपचार खर्चलाई लिएर बिरोध भइरहेको छ ।
अनेरास्ववियुले त्यसैको विरोध स्वरुप आज देशभर रु एकका दरले रकम सङ्कलन गरेको सह–संयोजक उपरकोटीले बताउनुभयो । खोटाङमा वृद्धावस्थाका श्रमिक ७५ वर्षीय नरबहादुर गुरुङबाट सहयोग रकम सङ्कलन अभियान शुरु गरिएको हो ।