दिक्तेल रुपाकोट मझुवागढीमा विदेशबाट फर्किएकाका लागि पुनः एकीकरण परियोजना

Halesi Khabar
0 Shares

खोटाङ, २२ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि लक्षित गरेर पुनः एकीकरण परियोजना (रेमी) शुरु गरिएको छ । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा सञ्चालित हेल्भेटास नेपालको प्राविधिक सहयोगमा शुरु गरिएको परियोजनाले बिहीबार नगर प्रमुख तीर्थराज भट्टराई, उप प्रमुख विशन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा नगरपालिका भित्रका सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग कार्यशाला गोष्ठी गरेको छ ।

रेमीले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई स्वदेशभित्र सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक जीवनमा सक्रिय रुपमा सहभागी गराइ पुनः स्थापित गराउने लक्ष्य राखेको रेमीका कोशी प्रदेश कार्यक्रम अधिकृत रिता विश्वासले जानकारी दिनुभएको छ । परियोजनाका लागि दिक्तेल रुपाकोट मझुवागढीमा सो परियोजनाका चारजना कर्मचारी खटिएका छन् ।

रेमी परियोजनाले विदेशबाट घर फर्केर काम गर्न चाहने व्यक्ति, स्वरोजगार बन्न चाहने व्यक्ति, विदेशबाट फर्किएकालाई अनुदान, ऋण दिने सम्बन्धित निकायसम्म समन्वय गर्ने जनाइएको छ । विदेशबाट फर्केका व्यक्तिलाई मनोसामाजिक परामर्श र वित्तीय साक्षरता शिक्षा दिने तथा कमाएर ल्याएको धनको सदुपयोग गर्ने उपायसमेत दिइने रेमीका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिनुभएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित कोशी प्रदेशका दश स्थानीय तहमा रेमी परियोजना शुरु भएको जनाइएको छ । मधेश प्रदेशका दशवटा स्थानीय तहमा समेत सञ्चालन भएको यो परियोजना आगामी वि.सं. २०८३ सालसम्म रहने कार्यक्रम संयोजक आचार्यले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको खोटाङमा सुरक्षित आप्रवान परियोजना (सामी)समेत सञ्चालनमा रहेको छ । सामीले वैदेशिक रोजगारीमा जान चाहनेका लागि सीप तथा विदेशमा पुगेर समस्यामा परेकालाई सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया