खोटाङ, २३ असार । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि शनिबार जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
सोह्र महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । “पूर्ण खोप अभियानका क्रममा जिल्लाका २२ जना बालबालिकाले अहिलेसम्म एउटै पनि खोप नलगाएको तथा ५० जना बालबालिकाले खोपको मात्रा छुटाएको पाइएको थियो । उनीहरुसहित १६ हजार ५०५ जना बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको खोप लगाइएको छ”, उहाँले भन्नुभयो, “खोपले जीवन र पैसा दुवै बचाउँछ । त्यसैले आगामी दिनमा पनि सबै बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउन हामी सबैको उत्तिकै भूमिका हुन्छ । सबैको समन्वय र सहकार्यमा पूर्ण खोप कार्यक्रमलाई सफल बनाउनुपर्छ ।”
आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने, कसैलाई पनि नछुटाउने र खोप सम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित सैयक्त रुपमा हस्ताक्षरसमेत गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा भएको घोषणासभामा प्रमुख अतिथि संविधानसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का पोलिट ब्यूरो सदस्य दुर्गाजयन्ती राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणासभाको अवसरमा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न सङ्घ संस्था लगायतलाई सम्मानसमेत गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् संविधासभा सदस्य राईले अबिर लगाएर प्रमाणपत्रसहित सम्मान गर्नुभएको हो ।
घोषणासभा कार्यक्रमका वक्ताहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हल दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा पूर्व सांसद कुलप्रसाद फुयाँल, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका लगायतको उपस्थिति रहेको थियो ।