चिया तथा कफी खेती प्रवद्र्धनमा स्थानीय तह

Halesi Khabar
0 Shares

खोटाङ, २७ असार । दश स्थानीय तह रहेको खोटाङ जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धनका कार्यक्रम लागू गरेका छन् । लेकाली भेगमा खाली रहेको जग्गालाई उपयोग गर्दै स्थानीय बासिन्दालाई आफ्नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धनका कार्यक्रम लागू गरेका हुन् ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्ष २५ हजार कफीका बिरुवा निःशुल्क वितरण गरेको छ । पाँच वर्षभित्र पाँच लाख कफीको बिरुवा पु¥याउने लक्ष्य लिएको नगरपालिकाले दुई लाख बेर्ना उमार्नेगरी नर्सरी व्यवस्थापन गरेको छ ।

प्रतिवर्ष दश लाख केजी प्रशोधित कफी उत्पादन गर्ने लक्ष्यसहित कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । “जिल्लामा कफीको माग अधिकमात्रामा बढेर गएको पाइएको छ । कफीमा अहिले वार्षिक रु २० करोडभन्दा बढी पूँजी पलायन हुन्छ । अबको केही वर्षभित्रै जिल्लाभरि कफीको माग पूर्ति गर्ने गाउँपालिकाको लक्ष्य छ”, उहाँले भन्नुभयो, “कफी खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर यो वर्ष २५ हजार बिरुवा किसानलाई वितरण गरेका छौँ । आगामी वर्ष दुई लाख वितरण गर्ने योजना छ । नगरपालिकाले निःशुल्क बिरुवा उपलब्ध गराएपछि कृषकहरु पनि उत्साहित बनेका छन् ।”

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैस्याङटार डाँडालाई चियाको बगानमा परिणत गर्न शुरु गरेको छ । वडा–६ छितापोखरीमा पर्ने उक्त डाँडामा करिब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले सात हजार चियाका बिरुवा रोपेको छ ।

सुम्निमा पारुहाङ पार्क (उद्यान)समेत रहेको उक्त डाँडामा आन्तरिक पर्यटकको रोजाइमा पर्छ । आगामी दिनमा आन्तरिक पर्यटकको वृद्धिसँगै बाह्य पर्यटक भित्र्याउन र कृषिबाट रोजगारी दिन मैस्याङटार डाँडालाई चिया बगान बनाउन शुरुवात गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताउनुभएको छ ।

जिल्लाका विभिन्न भूभागसँगै हिमाल र तराईका फाँटको दृश्य अवलोकन गर्न सकिने मैस्याङटार डाँडामा हरेक दिन आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । यो वर्ष सात हजार चियाको बिरुवा रोपेको गाउँपालिकाले अन्य वर्ष बिरुवा निरन्तररुपमा थप्दै जाने तयारी गरेको छ ।

केपिलासगढी गाउँपालिकाले वडा नं. १ फेदीमा यस चियाका बिरुवा धमाधम रोपिरहेको छ । जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा यस वर्ष दुई लाख चियाका बिरुवा रोपिने वडाध्यक्ष नीरकुमार राईले जानकारी दिनुभयो ।

फेदीमा गत वर्षदेखि व्यवसायिक चिया खोती शुरु गरिएको गाउँपालिकाले जनाएको छ । चिया खेतीलाई व्यवसायिक र गुणस्तरीय चिया उत्पादन गर्नेगरी बिरुवा रोप्ने काम शुरु गरिएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो ।

फेदीका तालखर्क, डाँडाखर्क, बर्खे, सुम्दे लगायतका ठाउँमा प्राविधिक टोलीसहित चियाका बिरुवा रोप्ने काम भइरहेको छ । फेदीमा व्यवसायिक चिया उत्पादनका लागि दुईवटा कृषक समूहसमेत गठन गरिएको छ ।

साकेला गाउँपालिकाले वडा नं. ३ खिदिमास्थित तावाभञ्ज्याङमा गत वर्षदेखि नै व्यवसायिक चिया खेती शुरु गरेको थियो । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा मात्र वडा रहेको) साकेला गाउँपालिकाले यस वर्ष मात्रै सात हजार बिरुवा रोपेको छ ।

पर्यटकीयस्थल तावाभञ्ज्याङमा रोपिएका चिया बगानको हेरचाह गर्ने कामदारसमेत राखिएको गाउँपालिकाले जनाएको छ । चिया खेतीलाई पर्यटन प्रवद्र्धनसँगै जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको उद्देश्य रहेको गाउँपालिका उपप्रमुख बिर्सिका राईले जानकारी दिनुभयो ।

खोटेहाङ गाउँपालिकाले वडा नं. २ वाप्लुखास्थित कपासेभञ्ज्याङमा व्यवसायिक चिया खेती गरेको छ । टेम्के–थामडाँडा कृषि सहकारी संस्था भोजपुरले निःशुल्क उपलब्ध गराएको १५ हजार चियाको बिरुवा रोखिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया