खोटाङ, १० साउन । साकेला गाउँपालिका–३, खिदिमास्थित तावाभञ्ज्याङमा निर्माण गरिएको वावु (चिण्डो) पोखरी जनश्रमदानमार्फत सफा गरिएको छ । वर्षादको भलबाढीका कारण पोखरी पुरिएपछि वडा कार्यालय खिदिमाको पहलमा स्थानीय बासिन्दा भेला गराएर पोखरीमा भरिएको ढुङ्गा, गिट्टी तथा बालुवा निकालिएको हो ।
साकेला गाउँपालिकाको लगानीमा दुई वर्षअघि निर्माण गरिएको उक्त पोखरी वर्षादको भलका कारण पुरिएको थियो । किराती मिथक र मुन्धुममा आधारित रहेर निर्माण गरिएको उक्त चिण्डो पोखरी पुरिएर अस्थित्व नै हराउन लागेपछि श्रमदानमार्फत सफा गरिएको वडा अध्यक्ष गोविन्द तामाङले बताउनुभयो ।
जनश्रमदान गर्न खिदिमाका १०० भन्दा बढी स्थानीयबासीको साथमा जनप्रतिनिधि, राजनीतिककर्मी, कर्मचारीहरु तावाभञ्ज्याङ पुगेका थिए । उक्त पोखरी सफा गर्न र जनश्रमदानलाई साथ दिन साकेला गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राईको पनि उपस्थिति रहेको थियो ।
स्थानीय नागरिकहरुसँगै गाउँपालिका प्रमुख र उपप्रमुख दुवै जनाले पोखरीमा भरिएको बालुवालाई निकालेर व्यवस्थापन गर्न सहयोग गर्नुभएको थियो । वडा कार्यपालिकाले चलाएको श्रमदान अभियान उदाहरणीय कार्य भएको बताउँनुहुँदै गाउँपालिका प्रमुख राईले अन्य वडाले पनि विकासका कार्यहरुमा श्रमदान अभियान सञ्चालन गर्न जरुरी रहेको बताउनुभएको छ ।
“विकासका संरचनाहरु बिग्रदै गएको छ, त्यसलाई सपार्न करोडौँ रकम खर्च हुन्छ, जनताको प्रत्यक्ष सरोकार राख्ने प्रकारका भौतिक विकासहरुमा श्रमदान अभियान चलाउन सके राज्यको करोडौँ रकम जोगिन्छ”, गाउँपालिका प्रमुख राईले भन्नुभयो, “गाउँपालिकामा सञ्चालित योजनालाई दीगो र उपयोगी बनाउन हरेक वडामा श्रमदान अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । यसमा सबैको साथ आवश्यक छ ।”
नेपाल सरकारको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेलसँगै जोडिएको उक्त चिण्डो पोखरी सफा गर्न कम्तिमा पनि रु दुई लाख ५० हजारभन्दा बढी रकम लाग्ने प्राविधिक अनुमान गरिएको थियो । श्रमदान अभियानमा खुवाइने खाजासमेत स्थानीयस्तरमा उत्पादन हुने खाद्य वस्तुहरुको प्रयोग गर्ने गरिएको छ ।
आयातित सामग्रीहरुलाई प्रतिबन्ध गर्दै वडाबाट सञ्चालन गरिने कार्यक्रमहरु स्थानीय उत्पादनलाई प्राथिमकता दिइने निर्णय गरिएको वडाध्यक्ष तामाङले जानकारी दिनुभएको छ । खिदिमामा हुने विकासे योजनाको मर्मत गर्नका लागि श्रमदान अभियानलाई निरन्तरता दिन वडा कार्यपालिकाबाटै निर्णय गरिएको जनाइएको छ ।