अज्ञात व्यक्तिले हानेको ढुङ्गाले लाग्दा खोटेहाङको एम्बुलेन्समा क्षति

Halesi Khabar
0 Shares

खोटाङ, ११ साउन । अज्ञात व्यक्तिले हानेको ढुङ्गाले लाग्दा खोटेहाङ गाउँपालिकाको एम्बुलेन्समा क्षति पुगेको छ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी सुत्केरीलाई उपचारका लागि बिराटनगर पु¥याएर फर्कने क्रममा उदयपुरको देउधारमा अज्ञात व्यक्तिले हानेको ढुङ्गाले लाग्दा एम्बुलेन्समा क्षति पुगेको हो ।

सडकमा गुडिरहेको एम्बुलेन्सलाई सडकमाथिको डिलबाट हानेको ढुङ्गाले अगाडिको सिसामा लाग्दा फुटेर क्षतविक्षत भएको छ । एम्बुलेन्सलाई ढुङ्गा हान्ने व्यक्ति अहिलेसम्म पहिचान नभएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभयो ।

बच्चा जन्मिए पनि अधिक रक्तश्राव भएका कारण सुत्केरीलाई गाईघाटबाट बिराटनगर पु¥याएर फर्कने क्रममा एम्बलेन्सलाई कसैले सडकमाथिबाट लुकेर हानेको ढुङ्गाले लागेको चालकले बताएका छन् । गाउँपालिकाभरीका घाइते तथा बिरामीलाई सहज रुपमा स्वास्थ्य संस्थासम्म लैजाने तथा ल्याउने व्यवस्थाका लागि गाउँपालिकाले गत असार–२२ गतेदेखि नयाँ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको थियो ।

खोटाङ सेवा समाज युकेले उपलब्ध गराएको एम्बुलेन्स बिग्रिएर थन्किएपछि गाउँपालिकाले भन्सार छुटमा रु २० लाख खर्च गरेर नयाँ एम्बुलेन्स खरिद गरेको जनाइएको छ । गाउँपालिकाभरीका गर्भवतीलाई स्वास्थ्य संस्था पु¥याउन तथा ल्याउन एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले गर्भवती तथा असक्तलाई अस्पताल लैजान र ल्याउन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । स्थानीय तहले निःशुल्क सञ्चालन गरेको एम्बुलेन्स सेवा कच्ची अवस्थामा रहेको ग्रामीण सडक अवरुद्ध हुँदा सेवाग्राहीले सहज रुपमा उपभोग गर्न पाएका छैनन् ।

तपाईको प्रतिक्रिया