खोटाङ, १२ साउन । साकेला गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई उनीहरुको नेतृत्व विकास सम्बन्धी चार दिने तालिम प्रदान गरिएको छ । ’शी लिड्स–महिला नेतृत्व’ परियोजना अन्तरगत सिडिडब्लुएनको आयोजनामा स्थानीय तहको निर्वाचनबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई राजनीतिक व्यवहार र कार्यशैली परिवर्तनका लागि नेतृत्व विकास सम्बन्धी चार दिने तालिम दिइएको हो ।
तालिमको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै साकेला गाउँपालिका प्रमुख रविप्रकाश राईले ‘शि–लिड्स महिला नेतृत्व’ परियोजनाले प्रदान गर्ने यस प्रकारको तालिमले महिला जनप्रतिनिधिहरुको राजनीतिक व्यवहार र कार्यशैलीमा परिवर्तन आएको बताउनुभयो । उहाँले तालिमसँगै महिला जनप्रतिनिधिहरुले राजनीतिक र कार्यशैलीमा उत्कृष्टता हाँसिल गरेको भन्दै धन्यवादसमेत ज्ञापन गर्नुभएको छ ।
तालिम पश्चात महिला जनप्रतिनिधिको हैसियतले स्थानीय सरकारमा प्रभावकारी ढङ्गले आफ्नो भूमिका निर्वाह गर्नका लागि आफूलाई चाहिने सीप र ज्ञानको वृद्धि भएको प्रमुख राईले बताउनुभयो । तालिमले महिला जनप्रतिनिधिहरुको आत्मविश्वास बढ्नुका साथै नेतृत्व गर्ने सीपको समेत विकास भएको उहाँले दाबी गर्नुभयो ।
दश स्थानीय तह रहेको खोटाङ जिल्लाको साकेला गाउँपालिकासँगै दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकामा यो परियोजना सञ्चालित छ । तालिमको सहजीकरण परियोजनाको तर्फबाट संविधानसभा सदस्य दुर्गाजयन्ती राई र दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलका प्राध्यापक लक्ष्मीकुमार राईले गर्नुभएको थियो ।
सबै स्थानीय तहमा प्रारम्भिक प्रशिक्षणको तेस्रो चरणको तालिम सम्पन्न भइसकेपश्चात मध्यावर्ती तालिम प्रदान गर्ने परियोजनाले जनाएको छ । स्वीस सरकार विकास सहयोग एसडिसी र अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएफको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
तालिमबाट लैङ्गिक समानता प्रवद्र्धन गर्न तथा आफ्नोसमुदायका अन्य बालिका र महिलाका लागि प्रेरणा स्रोतको रुपमा कार्य गर्न प्रोत्साहित गर्न, लैङ्गिक समानतालाई संरक्षण गर्नका लागि सहभागीहरुका समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न, स्थानीय तहमा निर्वाचित महिलाहरुले एक आपसमा अनुभव आदन प्रदान र सहयोग गर्नका लागि सञ्जाल निर्माण गर्न हरेक प्रशिक्षणबाट महिला जनप्रतिनिधिहरुको नेतृत्व सीपको विकास गर्ने अपेक्षा गरिएको छ । उक्त तालिम पश्चात राजनीतिक सम्वादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्मविश्वास बढ्ने आयोजकले जनाएको छ ।
प्रारम्भिक प्रशिक्षणको मोडल–१ मा महिला नेतृत्वको परिचय, आत्मविश्वासको अभिवृद्धि, स्थानीय सरकारको काम कर्तव्य र अधिकार, राजनीतिक तथा निर्णय प्रकृयामा महिला सहभागिताको महत्व, नियमन कार्य, लैङ्गिक समानता र सरोकारवाला व्यक्तिसँगको सहकार्य लगायतको विषयमा सहजीकरण गरिएको थियो भने मोडल–२ मा समूह कार्य, सक्रिय सुनुवाइ, स्थानीय सरकारको योजना तर्जुमा, कार्यान्वयन र अनुगमन प्रकृया, स्थानीय सरकारको बजेट तर्जुमा प्रकृया, सञ्जालीकरण, वार्ता, बैठकको आयोजना तथा व्यवस्थापन लगायतको विषयमा सहजीकरण गरिएको छ ।
यस्तै, मोडल–३ मा शक्तिको परिचय र मापन, स्थानीय तहको विधायिकी कार्यप्रणाली, तथ्याङ्क सङ्कलन, अद्यावधिक तथा व्यस्थापन, सञ्चार माध्यमसँगको सहकार्य, विकास, दुष्प्रचार र द्धेशपूर्ण अभिव्यक्तिको परिचय र निराकरणका उपायबारे सहजीकरण गरिएको थियो । तालिममा कार्यक्रम संयोजक इन्दुकला राई र फिल्ड मोभिलाईजर विकास सुनारको समेत उपस्थित रहेको थियो ।