खोटाङ, १२ साउन । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीमा पाँच श्ययाको ‘ईन्द्रेणीपोखरी आधारभूत अस्पताल’ सञ्चालनमा ल्याइएको छ । तत्कालका लागि गाउँपालिकाको लगानीमा विशेषज्ञ डाक्टरसहित दशजना स्वास्थ्यकर्मी तथा कर्मचारी नियुक्त गरेर शुक्रबारदेखि औपचारिक रुपमा चौबीसै घण्टा सेवा दिनेगरी आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो ।
ईन्द्रेणीपोखरीको स्वास्थ्य चौकी भवनलाई स्तरोन्नति गरेर आधारभूत अस्पताल सञ्चालन गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभयो । “गाउँपालिकामा अस्पताल नहुँदा अधिकांश बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता थियो । स्थानीय नागरिकलाई उपचारका लागि अन्यत्र पठाउँदा आर्थिक तथा प्राविधिक समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो, “नागरिकको समस्या समाधान गर्ने उद्देश्यले गाउँपालिकाको लगानीमा पहिलो चरणमा पाँच श्ययाको अस्पताल सञ्चालनमा ल्याइएको छ । यसलाई स्तरोन्नति गरेर चाँडै १५ श्ययाको बनाउने तयारी गरेका छौँ ।”
दीर्घ रोगीहरुका लागि ल्याब, दुर्घटना तथा जटिल किसिमका रोगीका लागि एक्स–रे, गर्भवतीका लागि बर्थिङ सेन्टर लगायतका सेवा चौबीसै घण्टा दिनेगरी सञ्चालनमा ल्याइएको आधारभूत अस्पताल गाउँपालिका प्रमुख मुक्तिले ब्यानर पढेर उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा उपप्रमुख रुपेश राई, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नौँवटै वडाका वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख लगायत स्वास्थ्यकर्मीहरु, स्थानीय सरोकारवाला व्यक्ति लगायतको उपस्थिति रहेको थियो ।
आधारभूत अस्पतालमा विशेषज्ञ डाक्टर एकजना, ल्याब असिस्टेन एक, रेडियोग्राफर एक, हेल्थ असिस्टेन एक, अहेव दुई, अनमी दुईजना र कार्यालय सहयोगी दुईगरी दशजना स्वासथ्यकर्मी तथा कर्मचारी रहेका छन् । तत्कालका लागि नेपाल सरकारले तोकेको सबै प्रकारका औषधि गाउँपालिकाले निःशुल्क उपलब्ध गराउनेगरी अस्पताल सञ्चालनमा ल्याइएको ईन्द्रेणीपोखरीका वडाध्यक्ष बसन्त राई ‘पथिक’ले जानकारी दिनुभयो ।
ईन्द्रेणीपोखरीमा आधारभूत अस्पताल सञ्चालनमा आएपछि खोटेहाङसँगै छिमेकी गाउँपालिकाहरु जन्तेढुङ्गा, बराहपोखरी दिप्रुङ चुइचुम्माका नागरिकले आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा पाउने भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा विशेषज्ञ अस्पताल नहुँदा सावापारीका स्थानीय बासिन्दा सदरमुकाम दिक्तेल, छिमेकी जिल्ला गाईघाट, धरान, विराटनगर र काठमाडौँ जानुपर्ने बाध्यता रहेको थियो ।
यसैबीच, ईन्द्रेणीपोखरी आधारभूत अस्पताल उद्घाटनसँगै ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका २२ वर्षीय पवन तामाङको शव परीक्षण गरिएको छ । खोटाङ बजारमा मिक्सचर पु¥याएर फर्कनेक्रममा खोटाङबजार–कात्तिके–मेर्ला सडकखण्डको मेर्लामा बिहीबार मध्यान्ह १२ बजेर ४५ मिनेट जाँदा ना ६ त २४६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेका तामाङको उपचारका लागि गाईघाट लैजानेक्रममा साउनेमा मृत्यु भएको हो ।
स्वास्थ्य उपचारका लागि हिँडाइएका तामाङको बाटैमा मृत्यु भएपछि फर्काएर ईन्द्रेणीपोखरी आधारभूत अस्पतालमा शव परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको गाउँपालिका प्रमुख मुक्तिले जानकारी दिनुभयो । गाउँपालिकाले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालमा सामान्य उपचारदेखि शव परीक्षणसम्मको सेवा लिन पाउने भएपछि स्थानीय बासिन्दासमेत लाभान्वित हुने भएका छन् ।
ईन्द्रेणीपोखरीमा आधारभूत अस्पताल सञ्चालन हुनुअघि दक्षिणी क्षेत्रमा भएका दुर्घटना तथा भव्यतव्यमा परी ज्यान गुमाएका स्थानीय बासिन्दाको शव सदरमुकाम दिक्तेल तथा छिमेकी जिल्ला गाईघाट पु¥याउनुपर्ने अवस्था थियो । शव परीक्षण गर्नका लागि सदरमुकाम दिक्तेल तथा छिमेकी जिल्ला गाईघाट पु¥याउनका लागि चर्को मूल्यमा गाडी रिजर्भ गर्नुपर्ने बाध्यतासमेत हटेको वडाध्यक्ष पथिकले बताउनुभयो ।