विपन्नलाई दिन ल्याइएको सोलार प्यानेल नगर प्रमुखका भाइले आफन्तलाई बाँडेपछि…

Halesi Khabar
0 Shares

खोटाङ, १६ साउन । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानेल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको छ । नगर प्रमुख विमला राईले गत साउन–३ गते नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पु¥याउनुभएको २२ थान सोलार प्यानेल सोही दिन उहाँका कान्छा भाइ रोजचन्द्रले वडाध्यक्षलाई समेत जानकारी नदिइ आफ्नो टोलका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको हो ।

वडामा आउने योजनामा निर्वाचित वडाध्यक्षको अधिकारमाथि नै हस्तक्षेप गरेर नगर प्रमुखका भाइले निर्वाचित वडाध्यक्षको अपमान गरेको वडाध्यक्ष भूपालसिं राईले गुनासो गर्नुभएको छ । “म च्यास्मिटारका जनताले दिएको मतले निर्वाचित भएको वडाध्यक्ष हो । वडामा हुने हरेक गतिविधि मसँग जोडिन्छ । त्यसको जस वा अपजस मैले नै लिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “नगर प्रमुखको भाइ भएकै आधारमा वडामा आएको योजनामा हस्तक्षेप गर्नु उचित होइन । यसले राम्रो सन्देश गएको छैन । आगामी दिनमा पनि यस्तो हर्कत दोहोरिए सहेर बस्दिनँ ।”

च्यास्मिटारको साबिक नौँवटै वडाका विपन्न परिवारका लागि भनेर खरिद गरिएको सोलार प्यानेल नगर प्रमुख राईका भाइ रोजचन्द्रले साबिकको तीनवटा वडामा मात्र आफूखुसी वितरण गरेको पाइएको छ । साबिकको वडा नं. छ भाग्रामा १५, वडा नं. ३ सार्पामा पाँच र वडा नं. ४ दाल्फुमा दुईवटा वितरण गरेको पाइएको हो ।

विपन्न परिवारका लागि खरिद गरिएको सोलार प्यानेल वडामा ल्याउनुअघि च्यास्मिटारका लागि ११ वटा कोटा रहेको नगरपालिकाको जिन्सी शाखाबाट जानकारी आएको समेत वडाध्यक्ष राईले बताउनुभएको छ । “विपन्न परिवारका लागि वितरण गर्न भनेर गत असारमै सोलार प्यानेल खरिद गरिएको थियो । वडामा ल्याएर वितरण गर्न केही ढिला भएको थियो । सोही अवस्थामा नगर प्रमुख विमला राई ज्यूले म आफ्नै गाडीमा हालेर ल्याइदिन्छु है भन्नुभयो । मैले हुन्छ भने !”, उहाँले भन्नुभयो, “सोलार प्यानेल लिएर नगर प्रमुख वडा कार्यालयमा आउनुअघि नै उहाँका कान्छा भाइ रोजचन्द्र लगायतका साथीहरु भेला भएर बसेका रहेछन् । गाडीबाट झार्न नै नपाइ डोकोमा हालेर लान थालेपछि कुनै प्रतिक्रिया नजनाइ घर फर्किएँ ।”

नगर प्रमुख राईका भाइ रोजचन्द्रले भने, नगरपालिकाले उपलब्ध गराएको सोलार प्यानेल आवश्यकताको आधारमा वडा कार्यालयका कर्मचारीलाई नै रोहबरमा विपन्न परिवारका लागि वितरण गरेको बताउनुभएको छ । “यसअघिका कार्यक्रमहरुमा वडाध्यक्ष ज्यूबाट धेरै अनियमितता भएका छन् । हामी पनि यही वडाका नागरिक हौँ । वडामा आउने योजना हाम्रै लागी आएको हो”, उहाँले भन्नुभयो, “सोलार प्यानेल वितरणमा प्रक्रिया मिचियो होला ! यसमा मेरो कमजोरी भयो भने, स्वीकार गर्न म तयार छु ! तर, पाउनुपर्ने व्यक्तिलाई उनीहरुको सबै विवरण राखेर वितरण गरिएको छ । वडाध्यक्ष ज्यूले यसअघि गर्नुभएको जस्तो अनियमितता भएको छैन ।”

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका विपन्न परिवारका लागि कोशी प्रदेशका तत्कालीन उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’को पालामा सोलार प्यानेल उपलब्ध गराउनेगरी योजना परेको थियो । केन्द्रीय प्रशारण लाइनको विद्युत नपुगेका ठाउँमा बसोबास गर्ने विपन्न परिवारका लागि बीस किलोवाट क्षमताको सोलार प्यानेल उपलब्ध गराएर उज्यालो दिनेगरी उक्त नगरपालिकाका ११ वटै वडाका लागि योजना पारिएको हो ।

च्यास्मिटारमा भएको घटना आन्तरिक पार्टीभित्र कै गुठउपगुठका कारण भएको स्थानीय बासिन्दाले बताएका छन् । नेपाली काँग्रेसबाटै निर्वाचित नगर प्रमुख र वडाध्यक्षबीच फरक–फरक गुठ भएका कारण आपसी मतभेद हुँदा च्यास्मिटारमा जाने हरेक योजनामा समस्या आउने गरेको समाचार स्रोतको दाबी छ ।

तपाईको प्रतिक्रिया