आफूले पाएको तलब खर्च गरेर नगर उपप्रमुखले निःशुल्क बाँडे किसानलाई घाँसको बिरुवा

Halesi Khabar
0 Shares

खोटाङ, १७ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले राज्यबाट आफूले तलबभत्ता बापत पाएको रु एक लाख ५० हजार रकम खर्च गरेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यवसायिक बनाउने उद्देश्यले ११ वडाका ५२३ जना किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताउनुभएको छ ।

नगर उपप्रमुख राईले वडा नं. १ दिक्तेलका १००, वडा नं. २ सोल्माका ५०, वडा नं. ३ बाम्राङका ५०, वडा नं. ४ खाल्लेका ३०, वडा नं. ५ लफ्याङका ३०, वडा नं. ६ नेर्पाका १००, वडा नं. ७ दोर्पाचिउरीडाँडाका ५०, वडा नं. ९ निर्मलीडाँडाका ३०, वडा नं. १३ नुनथलाका ३०, वडा नं. १४ बुइपाका ३० र वडा नंं १५ विजयखर्कका ५० जना किसानलाई नेपियर र अम्लिसो जातका घाँसको बिरुवा निःशुल्क वितरण गर्नुभएको छ । वडा नं. ८ दोर्पाचिउरीडाँडा र वडा नं. ९ निर्मलीडाँडाबाट खरिद गरेर ल्याइएको सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बङ्गाली रेड नेपियर तथा वडा नं. ३ बाम्राङबाट खरिद गरिएको अम्लिसो जातको घाँसका बिरुवा निःशुल्क वितरण गरिएको नगर उपप्रमुख राईले जानकारी दिनुभएको छ ।

पशुलापनलाई व्यवसायिक बनाउन नगरपालिकाबाट यस आर्थिक वर्षका लागि रु एक करोड बजेटसमेत विनियोजना गरिएको नगर उपप्रमुख राईले बताउनुभएको छ । “निर्वाहमुखी पशुपालन गर्दै आएका किसानलाई व्यवसायिक बनाउन यो वर्ष भैँसी र बाख्रामा अनुदान दिने योजना बनाएका छौँ । पशुपालनमा लगानी गरेर मासु र दूधजन्य पदार्थमा नगरपालिकालाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ”, उहाँले भन्नुभयो, “व्यवसायिक पशुपालनका लागि सम्भाव्यता अध्ययनसँगै किसानसँग भेटघाट गर्दै आफ्नै खर्चमा खरिद गरेर उन्नत जातको घाँसको बिरुवा निःशुल्क वितरण गरेको हुँ । यसले कृषकहरुसमेत उत्साहित भएका छन् ।”

पशुपालन तथा व्यवसायिक कृषिका लागि नगरपालिकाले यस आर्थिक वर्षमा ब्याच अनुदान स्वरुप किसानलाई रु चार करोड रकम उपलब्ध गराउनेगरी पहल थालेको जनाइएको छ । जिल्लास्थित विभिन्न बैङ्कहरुसँगको सहकार्यमा नगरपालिकाले ब्याच तिरिदिने सर्तसहित नगरपालिका नै जमानी बसेर रकम उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ ।

पन्ध्र वडा रहेको यस नगरपालिकाले पशु तथा कृषि व्यवसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्नेगरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको यस नगरपालिकामा अनुदान पाएका कतिपय कृषक व्यवसायिक बनेका छन् भने, कतिपयले काम नै नगरी अनुदान मात्र लिएको पाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा कृषकको आम्दानी वृद्धिका लागि सबैले व्यवसायिक कृषि प्रणालीमा जोड दिएका छन् । जिल्लाका कतिपय स्थानीय तहले कृषि उत्पादनलाई आफ्नै क्षेत्रमा प्रशोधन गरेर बजारीकरण गर्नेसम्मको योजना बनाएका छन् ।

तपाईको प्रतिक्रिया