खोटाङ, १८ साउन । साकेला गाउँपालिकालाई वातावरणमैत्री एवम् हरित गाउँपालिका बनाउन वृक्षरोपण अभियान शुरु गरिएको छ । गाउँपालिकाले शुरु गरेको अभियान अन्तरगत सडक किनारा, कार्यालय परिसर, वडा कार्यालयहरु, स्वास्थ्यसंस्था, विद्यालय, धार्मिकस्थलहरु लगायत सार्वजनिकस्थलमा विभिन्न प्रजातिका मौसम अनुकूल बिरुवा रोप्ने काम धमाधम भइरहेको छ ।
गाउँपालिकाको अभियान अन्तरगत वडा नं.–२ रतन्छास्थित साकेला पार्क (उद्यान)मा विभिन्न प्रजातिका करिब २०० बिरुवा रोपिएको छ । साकेला थान वरिपरी र साकेला पार्कभित्र पारिजात, अशोक, गुल्मर, कल्की लगायत विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख एवम् रतन्छाका वडा सचिव डिएम चाम्लिङले जानकारी दिनुभयो ।
वृक्षरोपण अभियानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो । गाउँपालिकाले शुरु गरेको वृक्षरोपण अभियानमा गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राई स्वयम् उपस्थित भएर वृक्षरोपण गर्नाले स्थानीय बासिन्दासमेत उत्साहित बनेका छन् ।
आफ्नो कार्यकालमा गाउँपालिकाभित्रका सडक किनारा, विद्यालय तथा कार्यालय परिसर, धार्मिकस्थलहरुमा २५ हजार बिरुवा रोप्ने घोषणा गरेअनुसार वृक्षरोपण अभियान सञ्चालन गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “गत वर्ष गाउँपालिकाको कार्यालय परिसरमा विभिन्न प्रजातिका ७०० फूल तथा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । यस वर्ष साप्सुखोला–मानेभञ्ज्याङ–तावाभञ्ज्याङ सडक किनारामा सात हजार बिरुवा रोप्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “मौषम र भूगोल सुहाउँदो लाली गुराँस, अशोक, निल्मर, गुल्मर, कल्की, पारिजात, क्रिशमस ट्री लगायतका बिरुवाहरु सडक किनारा, कार्यालय परिसर, विभिन्न बजार क्षेत्र, सार्वजनिक क्षेत्रहरुमा भौगोलिक बनावट अनुसार हावापानी सुहाउँदो फलफूलजन्य र भू–क्षयलाई नियन्त्रण गर्ने जैविक प्रकृतिका बिरुवा रोप्ने योजना बनाएका छौँ । यसले गाउँपालिकालाई वातावरणमैत्री एवम् हरित पालिका बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
साकेला गाउँपालिकाले सञ्चालन गरेको वृक्षरोपण अभियान अत्यन्तै राम्रो भएको स्थानीयवासीहरु बताउँछन् । रतन्छाका स्थानीयवासी सन्तराज राईले गाउँपालिकाले विभिन्न प्रजातिका फलफूलका बिरुवाहरु उपलब्ध गराएको प्रति आभार व्यक्त गर्नुहुँदै विकासका हरेक गतिविधिहरुमा गाउँपालिकाले सञ्चालन गर्ने श्रमदान अभियानमा आफूहरुको निरन्तर साथ र सहयोग हुने बताउनुभयो ।
वृक्षरोपण अभियानमा सहभागी बन्नुभएका पर्वत राईले रोपिएका बिरुवाको संरक्षण गर्ने दायित्व आफूहरुकै भएको प्रतिक्रिया दिनुभएको छ । साकेला गाउँपालिकाभित्र पर्ने हरेक सार्वजनिकस्थलहरुमा रोपिएका फलफूलका बिरुवाहरुको रेखदेख र गोडमेल स्थानीय बासिन्दा आफैले गर्ने प्रतिबद्धता जनाएका छन् ।