खोटाङ, १९ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डेङ्गु भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान’ शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय खोटाङ, सशस्त्र प्रहरी बल हलेसी गुल्म र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको संयुक्त आयोजनामा शुक्रबार दिक्तेल बजारमा लामखुट्टेको लार्र्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लार्भा नष्ट गर्न घरदैलो अभियान चलाइएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । पानी जम्ने ठाउँमा लामखुट्टेले फूल पारेर लार्भा उत्पादन गर्ने भएकाले पानी जम्न नदिन र आफ्ना घर वरपर निरन्तर सरसफाइका लागि जिल्लाबासीमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले लामखुट्टेको लार्र्भा नष्ट गर्ने अभियान चलाइएको नगर प्रमुख भट्टराईले बताउनुभयो ।
देशभर भाइरलको रुपमा फैलिँदै गएको डेङ्गुको सङ्क्रमण जिल्लाका पाँचजना बिरामीमा समेत पुष्टि भएको पाइएको छ । जिल्लाका विभिन्न ठाउँबाट विभिन्न समयमा उपचारका लागि जिल्ला अस्पताल खोटाङ आएका बिरामीमा डेङ्गु भइरसको सङ्क्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
जिल्लामा देखिएका डेङ्गु सङ्क्रमित सबैजनालाई अस्पतालमा भर्ना गरेर उपचारपछि घर पठाइएको जिल्ला अस्पताल खोटाङका डाक्टर पुष्कल राईले जानकारी दिनुभएको छ । “डेङ्गुलाई हेमोरेजिक फिभर पनि भनिन्छ । यसले गम्भीर रक्तस्राव, रक्तचापमा अचानक गिरावट र त्यसका कारणबाट मानिसमा मृत्यु पनि निम्त्याउन सक्छ”, उहाँले भन्नुभयो, “एडिज जातको लामखुट्टेले टोक्दा यो भाइरस लाग्ने गर्दछ । यस जातको लामखुट्टेले दिनको समयमा बढी टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुन जरुरी छ । आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिनु नै उत्तम उपाय हो ।”
जिल्लामा देखिएको डेङ्गुको सङ्क्रमणलाई थप बढ्न नदिन शुरुमै रोकथाम गर्ने उद्देश्यले जनचेतनामूलक अभियान चलाइएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले जानकारी दिनुभयो । “डेङ्गु एडिस जातको पोथी लामखुट्टेले सार्ने गर्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी अर्थात बजार क्षेत्रमा बढी पाइने गर्दछ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फूल पार्ने गर्छ”, उहाँले भन्नुभयो, “विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गमला, पानीका ट्ङ्याकी आदिमा यसले फूल पार्छ । त्यसैले यस्ता ठाउँहरुमा पानी जम्न नदिन अभियान चलाइएको हो ।”
एडिस नामक लामखुट्टेले विशेष गरी दिउँसोको समयमा मानिसलाई टोक्ने भएकाले त्यसबाट सचेत रहन जिल्लाबासीलाई आग्रहसमेत गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । एडिस नामक लामखुट्टेले जुनसुकै समयमा घरसँगै विद्यालय, कार्यालय र सार्वजनिकस्थलमा पनि टोक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुको सङ्क्रमणबाट बच्ने उत्तम उपाय भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।