दिप्रुङ चुइचुम्मामा १५ जना कार्यालय सहयोगीका लागि ५५ जनाको आवेदन

Halesi Khabar
0 Shares

खोटाङ, २३ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १५ जना करार पदका कार्यालय सहयोगी माग गरिएकामा ५५ जनाको आवेदन परेको छ । गाउँपालिका, वडा कार्यालय र स्वास्थ्यचौकीका लागि कार्यालय सहयोगी नियुक्ती गर्न खुलाइएको विज्ञापनमा ५५ जनाले आवेदन दिएका हुन् ।

सात वडा र छ स्वास्थ्यचौकीमा एक÷एक जना र गाउँपालिकामा दुई जना कार्यालय सहयोगी राख्नेगरी गाउँपालिकाले इच्छुक व्यक्तिबाट आवेदन आव्हान गरेको थियो । नयाँ कार्यालय सहयोगी नियुक्तीका लागि गाउँपालिकाले साउन–२२ गतेसम्म आवेदन दिन सकिनेगरी साउन–१६ गते आवेदन आव्हान गरेको गाउँपालिकाका सूचना अधिकारी पिएस्पी चाम्लिङ राईले जानकारी दिनुभएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पुनः ताजगीका लागि भन्दै यही साउन–१५ गते करारका कार्यालय सहयोगी सहित ५७ जनाको करार अवधि थप नगर्ने निर्णय गरेको थियो । सोही रिक्त स्थानमा गाउँपालिकाले नयाँ कार्यालय सहयोगी नियुक्त गर्न लागेको हो ।

बढ्दो बेरोजगारी समस्य र धेरैको योग्यता पुग्ने भएका कारण कार्यालय सहयोगीमा तीन गुणा बढीको आवेदन परेको हुनसक्ने गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताउनुभएको छ । कार्यालय सहयोगी छनोट परीक्षा साउन–२४ गते गाउँपालिकाको केन्द्र याङसोलाटारमा परीक्षा हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आव्हान गरेको अनमी चौथो तहको करार पदमा भने एकजनाको मात्र आवेदन गरेको छ । गाउँपालिकाले लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगले प्रकाशित गरेको विभिन्न मितिको विज्ञापनबाट अस्थायी तथा वैकल्पिक योग्यताका क्रममा भएका चौथो तह अनमी पदका उम्मेदवारलाई सात दिनभित्र निवेदन दिन साउन–१६ गते सूचना निकालेको थियो ।

गाउँपालिकाले दिएको समयसिमाभित्र एक जनाको मात्र आवेदन गरेको तर, उनले पनि व्यक्तिगत कारण देखाउँदै आउन नसक्ने जानकारी गराएको सूचना अधिकारी राईले जानकारी दिनुभएको छ । स्वास्थ्य सेवा सम्बन्धी कामकाजका लागि गाउँपालिकाले करारमा चारजना चौथो तहको अनमी नियुक्त गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया