२९ औँ विश्व आदिवासी दिवस : जिल्ला समन्वय परिषद खोटाङको भवन शिलान्यास

Halesi Khabar
0 Shares

खोटाङ, २४ साउन । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद खोटाङले २९ औँ विश्व आदिवासी दिवसको अवसर पारेर आफ्नो कार्यालय भवन शिलान्यास गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ थामखोरेमा निर्माण गर्न लागिएको जिल्ला समन्वय परिषदको भवन नगर प्रमुख तीर्थराज भट्टराई र उप–प्रमुख विशन राईले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।

आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष फूर्वा शेर्पाले निःशुल्क उपलब्ध गराउनुभएको आठ आना जग्गामा भवन निर्माण गर्न लागिएको जिल्ला सचिव उदिम चाम्लिङले जानकारी दिनुभयो । जिल्ला अध्यक्ष शेर्पाले निःशुल्क उपलब्ध गराउनुभएको रु छ लाख बराबरको जग्गामा भवन निर्माणका लागि नगरपालिकाको अनुदानमा सम्याउने कामसमेत सम्पन्न गरिएको जनाइएको छ ।

थामखोरेस्थित महासङ्घको कार्यालयमा भएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर उप–प्रमुख राईले आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषदको भवन निर्माणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । “आदिवासी जनजातिहरुको बृहत एकताले मात्रै मुलुकको परिवर्तन सम्भव छ । देशमा अहिले आएको परिवर्तनमा आदिवासी जनजातिको महत्वपूर्ण भूमिका छ”, उहाँले भन्नुभयो, “आदिवासी जनजातिको त्याग र बलिदानीबाट प्राप्त उपब्धि रक्षाका लागि आगामी दिनमा समेत एकतावद्ध भएर अगाडि बढ्नुपर्ने अवस्था छ ।”

भाडाको घरमा सञ्चालन हुँदै आएको आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद खोटाङको भवन यसै वर्षबाट निर्माणको काम शुरु गरिने जिल्ला अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय परिषदमा आवद्ध विभिन्न जातजाति लगायतको उपस्थितिमा भएको कार्यक्रममा शुुभकामना आदानप्रदानसमेत गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया