अपूरा आयोजना चाँडो सम्पन्न गराउन एमालेद्धारा प्रशासनको ध्यानाकर्षण

Halesi Khabar
0 Shares

खोटाङ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले जिल्लामा सञ्चालन भइरहेका नौँवटा अपूरा विकासे आयोजनाको विषयमा जिल्ला प्रशासन कार्यालय खोटाङलाई ध्यानाकर्षण गराएको छ । एमालेका कोशी प्रदेश समिति सदस्य एवम् प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ नेतृत्वमा बिहीबार प्रशासन पुगेको नेता तथा कार्यकर्ताको टोलीले प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

जिल्लामा सञ्चालित अपूरा योजनाहरुको काम चाँडोभन्दा चाँडो सम्पन्न गराउन प्रशासनको तर्फबाट पहल गरिदिन भन्दै एमाले खोटाङका जिल्ला उपाध्यक्ष देवबिक्रम राईले प्रमुख जिल्ला अधिकारी सुनारलाई ध्यानकर्षणपत्र बुझाउनुभएको छ । जिल्लाका पाँच सडक र तीनवटा पुल निर्माणको काम चाँडो सम्पन्न गराउन र गुणस्तर निर्धारणमा खबरादारी गरिदिन ध्यानाकर्षणपत्रमा भनिएको छ ।

यस्तै, दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको कामसमेत तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारी सुनारलाई एमालेले अनुरोध गरेको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित दूधकोसी नदीको रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावट क्षमताको उक्त जलाशययुक्त जलविद्युत आयोजनाको हालसम्म मुआब्जा निर्धाणरको कामसमेत भएको छैन ।

जिल्ला प्रशासन कार्यालयले मुआब्जा निर्धारण गर्नुपर्ने भएपनि यसअघिका प्रमुख जिल्ला अधिकारीहरुले चासो नदिँदा आफूहरुले मुब्जा पाउन नसकेको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन् । नेपाल सरकारबाट आयोजनाका लागि विनियोजन भएको दुई आर्थिक वर्षको रु एक अर्ब १४ करोड बजेट खर्च भएको विषयमा सार्वजनिक सुनुवाइ हुनुपर्ने एमालेको ध्यानाकोर्षणपत्रमा भनिएको छ ।

कालोपत्रको ठेक्का सम्झौता मिति सकिए पनि अलपत्र अवस्थामा रहेका चखेवाभञ्ज्याङ–सेखुवा सडक, महुरे–सिम्पानी (राजापानी सडक, फोक्सिन्टार–सिम्पानी (राजापानी) सडक, दिक्तेल–आहाले सडकको काम सम्पन्न गर्न पहल गर्न एमाले खोटाङको माग छ । यस्तै, हुर्लुङ–जालपा सडकको स्तरोन्नतिको काममा भएको ढिलासुस्ती र गुणस्तरको विषयमा अनुगमन गर्नसमेत एमालेले माग राखेको छ ।

पङ्खुखोला पुल, धाप्लाङघाट पुल र बङ्शिलाघाट पुल निर्माणको काम चाँडो अघि बढाउन ध्यानकर्षणपत्रमा भनिएको छ । जिल्लामा सञ्चालित सबै विकासे आयोजनाको अवधि सकिएपनि निर्माणको काम भने सम्पन्न हुने अवस्था छैन ।

यसैबीच, जिल्लामा सङ्घ र प्रदेश अन्तरगत रहेका जिल्लाका विभिन्न कार्यालयमा भएका अनियमितता एवम् अपारदर्शिताका विषयमा नियमित अनुगमन हुनुपर्ने एमालेको ध्यानकर्षणपत्रमा उल्लेख गरिएको छ । केही दिन अगाडिमात्र सरुवा भएर खोटाङ आउनुभएका प्रजिअ सुनारले एमालेले उठाएका सबै विषय तथा आयोजनामा केही महिनाभित्रै नतिजा आउनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया