योजना निर्माणमा आफूहरुलाई सहभागी गराउँदैनन् : महिला तथा दलित जनप्रतिनिधि

Halesi Khabar
0 Shares

खोटाङ, २७ साउन । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिहरुले आफूहरुलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी महिला तथा दलित महिला सदस्यहरु यस्तो गुनासो गरेका हुन् ।

दिक्तेलस्थित होटल थ्री ब्रर्दसमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका महिला वडासदस्य दीक्षा राईले वडामा आउने हरेक योजनामा वडाध्यक्षले आफूखुशी योजना निर्माण तथा बजेट विनियोजन गर्ने गरेको बताउनुभयो । “मेरो वडामा नेपाली काँग्रेसले वडाअध्यक्ष जितेको छ । म नेकपा एमालेबाट विजयी महिला वडा सदस्य हुँ”, उहाँले भन्नुभयो, “फरक पार्टीबाट जितेको भएर हो वा अन्य कुनै कारणले हो । हामी महिला तथा दलित महिला सदस्यहरुलाई योजना छनोट र बजेट विनियोजनमा उहाँ (वडाध्यक्ष ज्यू)ले सहभागी गराउनुहुन्न ।”

स्थानीय तहका पुरुष जनप्रतिनिधिहरुमा विभेदकारी स्वभाव अझै बाँकी रहेकाले आफूहरुमाथि अन्याय भएको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका पूर्ववडा सदस्य एवम् नेकपा एमालेकी नेतृ पुण्यकुमारी मगरले बताउनुभयो । “म वि.सं. २०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला वडा सदस्य हुँ । निर्वाचनपछि गाउँपालिकामा गठन गरिएको कार्यपालिकाको सदस्य भएरसमेत काम गरेको अनुभव छ”, उहाँले भन्नुभयो, “म हरेक समय सामाजिक काममै बिताउने गरेकी छु । अहिले हाम्रो गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेसले जितेको छ । अघिल्लो कार्यकालमा काम गरेका जनप्रतिनिधिहरुसँग केही न केही अनुभव हुन्छ । महिला भएकै कारणले हो वा अन्य कुनै कारण । अहिलेसम्म एक पटक पनि वर्तमान जनप्रतिनिधिहरुले गाउँपालिकामा सञ्चालन हुने विकासे योजनाको बारेमा छलफल गराएको छैन ।”

करिब चार घण्टा लामो अन्तरक्रियामा भाग लिनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व वडासदस्य शशीकला राईले महिला तथा दलित महिला सदस्यहरुले आफ्नो हक अधिकारसँगै हरेक काममा समानता खोज्न जरुरी रहेको बताउनुभयो । “हामी हाम्रो हक तथा अधिकारका लागि एक्लाएक्लै दौडिरहेका छौँ । हाम्रो एकता नभइ त्यो सम्भव छैन”, उहाँले भन्नुभयो, “आगामी दिनमा सबैले एउटै आवाज बुलन्द गर्नुपर्ने अवस्था आएको छ । अनिमात्र संविधानमा उल्लेख भएको समानता, समावेशीकरण र सहअस्तित्व कायम हुन्छ ।”

अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट निर्वाचित दशजना महिला तथा दलित महिला वडासदस्यहरु सहभागी भएका थिए । उनीहरु सबैको एउटै आवाज थियो, “हामीलाई पुरुष जनप्रतिनिधिहरुले योजना निर्माण तथा बजेट विनियोजनमा सहभागी नगराइ विभेदकारी व्यवहार गर्दै आएको छ ।”

दलित महिला केन्द्र नेपालले ‘शी लिड्स’ महिला नेतृत्व कार्यक्रम अन्तरगत ‘राजनीतिक दलमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्थापन र कार्यान्वयनमा अन्तर’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । जिल्लास्थित राजनीतिक दल र स्थानीय तहमा निर्वाचित महिला तथा दलित महिला सदस्य, पत्रकार लगायतको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्यद्धय पर्शुराम रम्तेल र दुर्गाजयन्ती राईले सहजीकरण गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश समिति सदस्य टंक थापाले अहिले महिला, दलित, जनजाति लगायत जतिपनि पिछाडि पारिएका व्यक्ति तथा समुदायले प्राप्त गरेका उपब्धिहरु माओवादीले गरेको दश वर्षे जनयुद्धको जगबाट सम्भव भएको दाबी गर्नुभएको छ । “मुलुकमा जति पनि प्रगतिशील उपलब्धीहरु छन् ती सबै माओवादीका कारण प्राप्त भएका हुन् । यसलाई संस्थागत हुन नदिन विभिन्न षडेन्त्रहरु शुरु भएको छ”, उहाँले भन्नुभयो, “प्राप्त उपलब्धीलाई संस्थागत गर्न फेरि पनि एक पटक एकतावद्ध हुनुपर्ने अवस्था आएको छ । अन्यथा पहिलेकै अवस्थामा देश पुग्नेवाला छ । त्यसैले बेलैमा सबै सजग हुनुप¥यो ।”

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जनता समाजवादी पार्टी (जसपा)का युवा नेता अञ्जिल राईले आफ्नो पार्टीले उत्पीडनमा परेका हरेक समुदायको पक्षमा बोलिरहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका जिल्ला सदस्य शिवकुमार भट्टराईले आफूहरु पनि राज्यले लिएको समानुपातिक समावेशीकरणको नीतिलाई कार्यान्वयन गर्ने अभ्यासमा रहेको जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा दलित महिला केन्द्र नेपालका अध्यक्ष दुलारी हरिजानको समेत उपस्थिति रहेको थियो । स्वीस सरकार विकास सहयोग कार्यक्रम एसडीसी र अष्ट्रेलियन एडको आर्थिक तथा आईएफईएसको प्राविधिक सहयोगमा सञ्चालित ‘शी लिड्स’ महिला नेतृत्व कार्यक्रम जिल्लाका दुई नगरपालिकासहित आठ स्थानीय तहमा सञ्चालित रहेको परियोजनाका जिल्ला कार्यक्रम संयोजक ईन्दु राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया