खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी हो : मन्त्री किराती

Halesi Khabar
0 Shares

खोटाङ, २९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोटाङ कलाकारहरुको नर्सरी भएको बताउनुभएको छ । खोटाङ कलाकार समाजले आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’को फाइनल अडिशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले खोटाङले जन्माएका कलाकारहरु विश्वभर स्थापित भएको बताउनुभयो ।

किरातीहरुको उद्गम थलो खोटाङ नै भएकाले पनि खोटाङ कलाकारहरुको लागि नर्सरी भएको मन्त्री किरातीले दाबी गर्नुभयो । “किराँत मुन्दुम आफैमा सँगीतवद्ध हुन्छ । खोटाङ किरातीहरुको उद्गम थलो भएकाले पनि गीत÷सँगीतमा लाग्ने कलाकारहरुको लागि खोटाङ नर्सरी भएको हो”, पूख्र्यौली थलो खोटाङ भएका मन्त्री किरातीले भन्नुभयो, “खोटाङ्गे भएकाले मलाई पनि गर्व लाग्छ । पछिल्लो समय खोटाङबाट धेरै प्रतिभाहरु जन्मिएका छन् । उनीहरुलाई बाटो देखाउनु अग्रजहरुको महत्वपूर्ण भूमिका हुन्छ ।”

खोटाङ्गे अग्रज कलाकारहरुले चुमेको शिखरलाई नवप्रतिभाहरुले धानेर राख्नुपर्ने पनि मन्त्री किरातीले नवप्रतिभाहरुलाई आग्रह गर्नुभएको छ । कला, संस्कार र सँस्कृति संरक्षणमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाको विषयमा आफू गम्भीर भएको अगाडि बढेको पनि मन्त्री किरातीले जानकारी दिनुभयो ।

खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (यूके)ले संयुक्त रुपमा आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ छनोटको प्रतियोगिताको फाइनल अडिशन राष्ट्रिय नाचघर जमल, काठमाडौँमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद रु दुई लाख दुई हजार, रु एक लाख एक हजार र रु ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवम् गायक तथा सँगीतकार रुपकुमार राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा खोटाङ जिल्लाका दशवटै स्थानीय तहबाट गायन तथा नृत्य विद्यामा एक÷एकजनागरी २० जना प्रतिभाले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट प्रदीप राई, हलेसी तुवाचुङ नगरपालिकाबाट अस्विन राई, बराहपोखरी गाउँपालिकाबाट लक्ष्मण परियार, जन्तेढुङ्गा गाउँपालिकाबाट दुर्गा राई, खोटेहाङ गाउँपालिकाबाट विकास राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट दिलीप राई, केपिलासगढी गाउँपालिकाबाट राजेश राई, ऐसेलुखर्क गाउँपालिकाबाट सुमन राई, रावाबेँसी गाउँपालिकाबाट ममता राई र साकेला गाउँपालिकाबाट रवीन दियाली सहभागी छन् ।

नृत्यतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सलिना भुजेल, हलेसी तुवाचुङ नगरपालिकाबाट स्मृति राई, बराहपोखरी गाउँपालिकाबाट सुवास विश्वकर्मा, जन्तेढुङ्गा गाउँपालिकाबाट करुणा राई, खोटेहाङ गाउँपालिकाबाट कविता श्रेष्ठ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट मनिता राई, केपिलासगढी गाउँपालिकाबाट सौलिना तामाङ, ऐसेलुखर्क गाउँपालिकाबाट सरिना राई, रावाबेँसी गाउँपालिकाबाट चिजन मगर र साकेला गाउँपालिकाबाट मेनुका राई सहभागी छन् । फाइनल अडिशनलाई रोचक र प्रभावकारी बनाउन जिल्लाका दशवटै स्थानीय तहबाट छनोटमा परेका नवप्रतिभालाई महिना दिनअघि काठमाडौँ झिकाएर प्रशिक्षण दिने कामसमेत गरिएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिनुभएको छ ।

जिल्लाको ग्रामीण तथा सुदुर गाउँहरुमा लुकेर तथा छलिएर बसेका सयौँ प्रतिभाहरुमध्ये प्रत्येक पालिकाबाट गायन तथा नृत्य विद्यामा तीन÷तीनजना प्रतिभा छनोट गरिएको जनाइएको छ । पालिकास्तरीय प्रतियोगिताबाट दुई विद्यामा ३०÷३० जना नवप्रतिभा छनोट गरिए पनि काठमाडौँमा हुने फाइनल प्रतिस्पर्धामा दुवै विद्यामा प्रथम भएका एक÷एकजना प्रतिभालाई मात्र सहभागी गराइएको आयोजकले जनाएको छ ।

खोटाङ घर भइ काठमाडौँलाई कार्यक्षेत्र बनाएर गीत÷सँगीतलाई आफ्नो पेशाको रुपमा अङ्गालेका खोटाङ्गे कलाकारहरुले वि.सं. २०७७ सालमा ‘खोटाङ कलाकार समाज’ गठन गरेको थियो । कला र साहित्यमा रुचि राखेर त्यसैमा आफ्नो भविष्य खोज्दै निरन्तर सङ्घर्ष गरिरहेका खोटाङ्गे कलाकारहरुको साझा मञ्चको रुपमा खोटाङ कलाकार समाज स्थापना गरिएको उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया