खोटाङ, ४ भदौ । नेवार समुदायको प्रमुख चाड लाखे जात्रा आज (सोमबार)बाट औपचारिकरुपमा शुरु भएको छ । नेवार समुदायको घनाबस्ती रहेको ठाउँहरुमा हरेक वर्ष मनाइने लाखे जात्रा अन्तरगत खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सोमबार दिनभर लाखे नाच प्रदर्शन गरिएको थियो ।
वर्ष दिनभित्र मृत्यु भएका दिवङ्गत आफन्तको सम्झना गर्दै मनाइने धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको लाखे जात्रासँगै गाई जात्रासमेत मनाउने गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा मनाइने गाई जात्रा पर्वलाई व्यङ्य गर्ने दिनको रूपमा समेत चिन्ने गरिन्छ ।
गाई जात्रामा खोटाङका नेवार समुदायले दिवङ्गत भएका आफ्ना पितृगणको सम्झना गर्दै टोलटोलमा घुमेर लाखे नाच देखाउने गरेका छन् । क्वाँटीपूर्णिमाको दिन यसअघि अर्थात वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै सापारु बनाएर दिक्तेल बजारका विभिन्न चोक परिक्रमा गराउने गरिएको छ ।
मृतकको तस्वीरसहित खटमा राखिएको सापारुमा आफन्तजनले पूजाआजा गर्दै रामायणका साथै मृतकको जीवनी वाचन गर्ने चलनसमेत रहेको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले बताउनुभयो । लयवद्ध तरिकाले वाचन गरिने रामायण र जीवन सुन्दा धेरैको मन रुने गरेको छ ।
दिक्तेल बजारमा मनाइने लाखे जात्राको मुख्य आकर्षण मुकुण्डोधारी लाखे नाच हुन्छ । ढोल, झ्याम्टाको तालमा जातीय सँस्कृति र परम्पराहरुको नक्कल गर्दै मुकुण्डोधारी लाखे नाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गर्छन् ।
लाखे बन्ने व्यक्तिले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर बसेका हुन्छन् । लाखेसँगै अघिपछि नाच्ने धतुवारेले दर्शकलाई थप मनोरञ्जन गराउँछ । लाखे जात्रालाई जिल्लाका नेवार समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् ।
लाखे जात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दुःखसुखका कुराहरु आदानप्रदानसमेत गर्ने गर्छन् । लाखे जात्राको अवसरमा नेवार समुदायको घरमा पूजाआजा गर्नुका साथै नेवारी परिवार खाने चलन छ ।
आफन्तजन, इष्टमित्र, साथीभाइ लगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने गर्छन् । अध्ययन, जागिर तथा विभिन्न पेशा÷व्यवसायका क्रममा घरदेखि टाढा रहेका परिवारका सदस्यहरु पनि लाखे जात्राको अवसरमा एक ठाउँ भेला हुने गरेको छन् ।
लाखे जात्राले साँस्कृतिक, धार्मिक एवम् ऐतिहासिक महत्वसँगै नेवार र गैंरनेवार समुदायबीच आपसी भाइचारा तथा भातृत्व कायम गर्दै खोटाङ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्र लयालुले बताउनुभएको छ । लाखे पर्वसँगै जिल्लामा लाखेजात्रा, गाईजात्रा, हिले जात्रा, रोपाइँ जात्रा, कृष्णजन्माष्टमीको जात्रा लगायतका विभिन्न जात्राहरु मनाउने चलन रहिआएको छ ।
श्रीकृष्ण जन्माष्टमीको दिन कृष्ण जात्रा गरेपछि कृष्णले राक्षस, भूत–प्रेत आदि मारेकोले लाखे ख्याली, आदि भूत–पिचास, नागको भय हुँदैन भन्ने जनविश्वास छ । नागपञ्चमीबाट औपचारिक रुपमा शुरु गरेर विशेष तरिकाले मनाइने लाखे जात्रा कृष्णाष्टमीको भोलिपल्ट नदीमा गएर विधिवत् रुपमा समापन गर्ने चलन रहिआएको छ ।
नेवार समुदायको महान चाड लाखे जात्राले जिल्लामा व्यापार÷व्यवसायलाई समेत सघाउ पुग्ने खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन आचार्यले बताउनुभएको छ । लाखे जात्रा दिक्तेल बजार, बुइपा, ऐसेलुखर्क, खोटाङबजार, चिसापानी, अर्खौले, खार्मी, दोर्पाचिउरीडाँडा लगायत नेवार समुदायको घना बस्ती भएको ठाउँमा विशेष कार्यक्रमका साथ मनाउने गरिएको छ ।