खोटाङ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङले तीन महिने अभियानका क्रममा आठ हजार नयाँ सदस्यता वितरण गर्ने जनाएको छ । माओवादी केन्द्रले देशभर एकैसाथ शुरुवात गरेको ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ विशेष रुपान्तरण अभियानका क्रममा जिल्लाका दशवटै स्थानीय तहको ७९ वडामा पुगेर नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको हो ।
अभियानमा सङ्गठन सुदृढीकरण तथा विस्तार, जनभेटघाट, शहीद परिवार, घाइते तथा अपाङ्ग, बेपत्ता परिवार, पूर्व लडाकुहरु, सहयोगी चन्दादाताहरु, कार्यकर्ता र शुभचिन्तक एवम् समर्थकहरुलाई भेटघाट गरिने माओवादी केन्द्रले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । जिल्लामा सञ्चालन हुने तीन महिने अभियानको नेतृत्व केन्द्र, प्रदेश र जिल्लास्तरीय नेताहरुले गर्ने माओवादी केन्द्र खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही भदौ–१६ गते देशभरका ६,७४३ वटै वडामा उद्घाटन गर्नुहुने तीन महिने अभियानको नाम ‘नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियान’ हुने जनाइएको छ । अभियानका लागि भदौ–९ गतेदेखि १४ गतेभित्र दशवटै स्थानीय तहको बैठक सम्पन्न गर्ने निर्णय गरिएको संयोजक आकाशले जानकारी दिनुभयो ।
अभियानमा खोटाङ जिल्लाका सबै मतदाता (एक लाख ४६ हजार २००)सँग भेटघाट गर्ने लक्ष्य राखिएको माओवादी केन्द्रले जनाएको छ । अभियानका क्रममा पार्टी अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकारले सञ्चालन गरेको भ्रष्टाचार, अनियमितता, वेथिति लगायतका विरुद्ध र सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा चाल्नुभएको सकारात्मक कदममा ऐक्यवद्धता जनाउन जिल्लाबासीलाई आव्हान गर्दै नेपाल सरकारले चालेको कदमलाई सफल पार्न निरन्तरता दिन आग्रह गरिने जनाइएको छ ।
पशुचौपायमा देखा परेको लम्पी स्किन रोगले जिल्लाका पशुपालक किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको प्रति पार्टीको ध्यानाकार्षण भएको पत्रकार सम्मेलनमा जनाइएको छ । देशभर महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट पीडित बनेका किसानहरुलाई उचित क्षतिपूर्ती दिन र त्यस रोगलाई नियन्त्रण गर्न तीनवटै तहका सरकारसँग माग गर्ने निर्णयसमेत गरिएको जनाइएको छ ।
दिक्तेल बजारस्थित माओवादी पार्टी कार्यालयमा भदौ–७ गते सम्पन्न माओवादी केन्द्रको छैटौँ पूर्ण बैठकले देशभर आँखा पाक्ने रोगको प्रकोप फैलिरहेको विषयलाई मध्यनजर गर्दै तत्काल नियन्त्रण गर्न तीनवटै तहका सरकारको ध्यानाषर्ण गराउने निर्णय गरेको छ । यस्तै, केही दिनदेखि देशभर परिरहेको अविरल वर्षाका कारण जिल्लामा हुनसक्ने प्राकृतिक प्रकोपप्रति सचेत रहन जिल्लाबासीलाई अपिल गरेको छ ।
बैठकले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल, बिजुली लगायत भौतिक पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती, गुणस्तरहीन तथा निर्माण कम्पनीको लापरबाहीका विषयमा पार्टीले एकल तथा जिल्लास्थित सबै राजनीतिक दलहरुसँगको सहकार्यमा व्यवस्थित गर्न आवश्यकीय पहलकदमी गर्ने जनाएको छ । जिल्लामा समाजवादी मोर्चा गठन गर्न घटक दलहरुसँग पहल गर्नेसमेत निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ ।
यसैबीच, प्रदेश नामाकरणको क्रममा प्रदेश नं. १ मा कमजोरी भएको प्रति आत्मालोचना व्यक्त गर्दै पार्टीको मूलमर्म र भावना अनुरुप उत्पीडित समुदायको पहिचानलाई आत्मासाथ गर्दै पुनः नामाकरण गर्न पहल गर्ने निर्णय गरेको छ । प्रदेश नामाकरणको क्रममा प्रदेश पार्टी संसदीय दलबाट कमजोरी भएको भन्दै पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण गर्न जिल्ला पार्टीले सङ्घर्ष गर्ने निर्णय गरिएको माओवादी केन्द्र खोटाङले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय लेखा आयोग अध्यक्ष पेशल खतिवडा, केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला इन्चार्ज चम्पा कार्की ‘आशा’, केन्द्रीय सदस्यहरु नगेन्द्र राई, दुर्गाजयन्ती राई, ङिमा तेन्डुप शेर्पा, ध्रुव बुढाथोकी ‘धिरण’ लगायतको उपस्थिति रहेको थियो । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता माओवादी केन्द्रको प्रमुख एजेन्डा भएकाले कार्यान्वयनमा लैजान पार्तीले तीन महिने अभियान शुरु गरेको आयोगका अध्यक्ष खतिवडाले बताउनुभयो ।