महालेखापरीक्षकको टोलीद्धारा खोटाङमा लेखापरीक्षणको काम शुरु

Halesi Khabar
0 Shares

खोटाङ, ११ भदौ । महालेखापरीक्षकको कार्यालय बबरमहल काठमाडौँबाट आएको लेखापरीक्षकको टोलीले खोटाङमा लेखापरीक्षणको काम शुरु गरेको छ । दश स्थानीय तह रहेको खोटाङमा लेखापरीक्षण गर्न आएका टोलीले आज (सोमबार)देखि ऐसेलुखर्क गाउँपालिकाबाट लेखापरीक्षणको काम शुरु गरेको हो ।

आर्थिक वर्ष २०७९÷२०८० मा सङ्घ, प्रदेश र स्थानीय तहमा भएको आयव्यायको लेखापरीक्षण गर्न महालेखापरीक्षकको दुईवटा टोली खोटाङ आएका छन् । महालेखपरीक्षकको कार्यालय बबरमहल काठमाडौँका निर्देशकद्धय कल्पना अर्याल र यज्ञ वस्तीको टोली लेखापरीक्षण गर्न खोटाङका आएका हुन् ।

लेखापरीक्षक टोलीले जिल्लास्थित सरकारी कार्यालयका प्रमुख र लेखा अधिकृतहरुसँग हिजो (आइतबार) दिक्तेलमा छलफल गरेका थिए । निर्देशक अर्याल र वस्तीसँग दुई÷दुई जना अधिकृत र एक÷एक जना नायब सुब्बा रहेका छन् ।

निर्देश अर्यालको टोलीले आज (सोमबार) ऐसेलुखर्कबाट न्यूनतम तीन दिनमा एक स्थानीय तहको लेखापरीक्षण सम्पन्न गर्नेगरी काम शुरु गरेको छ । अर्याल नेतृत्वको टोलीले ऐसेलुखर्कसहित रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाको लेखापरीक्षण गर्ने जनाइएको छ ।

निर्देशक वस्तीको टोलीले दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, बराहपोखरी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लेखापरीक्षण गर्ने जनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट लेखापरीक्षण शुरु गरिने वस्तीले बताउनुभएको छ ।

खासगरी स्थानीय तह, धेरै खर्च भएको तथा बेरुजु धेरै आएका कार्यालयमा लेखापरीक्षण गर्ने जनाइएको छ । साना कार्यालयहरुमा भने आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार हेर्नुपर्ने भए हेर्न नभए नहेरिने निर्देशक अर्यालको जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया