पूर्वविद्याथार्थी मञ्चले दियो दिक्तेल बहुमुखी क्याम्पसलाई खेलकुद सामग्री

Halesi Khabar
0 Shares

खोटाङ, १२ भदौ । पूर्वविद्याथार्थी मञ्चले खोटाङको दिक्तेल बहुमुखी क्याम्पसलाई खेलकुद सामग्री उपलब्ध गराएको छ । पूर्वविद्यार्थी मञ्चले पूर्वविद्यार्थीबाट सहयोग उठाएर दुई थान भलिबल, दुई थान फुटबल, एक थान भलिबल नेट, एक थान पम्प सेट, चार थान राकेट, एक थान व्याडमिन्टन नेट, एक थान सटल सेट, पाँच थान चेस बोर्ड, चार थान टेबल टेनिस व्याट र छ थान पिङपङ उपलब्ध गराएको हो ।

क्याम्पसको प्राज्ञिक तथा परामर्श समिति अन्तरगत अतिरिक्त क्रियाकलाप उपसमितिलाई खेल सामग्री हस्तान्तरण गरिएको मञ्चले जनाएको छ । क्याम्पस प्राङ्गणमा सोमबार आयोजित कार्यक्रममा पूर्वविद्यार्थी मञ्चका उपाध्यक्षद्धय राजेन्द्र राई र दानबहादुर राई, सचिव युवराज रिजाल र सदस्य इरन राईले क्याम्पस प्रमुख हीराकुमार राई लगायत क्याम्पस परिवारलाई खेल सामग्री हस्तान्तरण गरेका थिए ।

पूर्वविद्यार्थी मञ्चले गत पुसमा क्याम्पसलाई रु २४ हजार ६४१ बराबरको पुस्तक प्रदान गरेको थियो । दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययन गरेर विभिन्न क्षेत्रको जिम्मेवारीमा रहेका पूर्वविद्यार्थीलाई क्याम्पससँग जोडेर बनाइएको मञ्चले क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा हातेमालो गर्दै आएको छ ।

वि.सं. २०३७ सालमा त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिक्तेल बहुमुखी क्याम्पस बिश्व विद्यालय अनुदान आयोगले (क्यूएए) प्राप्त गर्ने चरणमा पुगेको छ । क्यूएएका लागि बिश्व विद्यालय अनुदान आयोग इजुकेसनल क्वालिटी एसुरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यु टिमले गत जेठ अन्तिम साता फाइनल एसेसमेन्ट गरिसकेको छ ।

क्यूएए प्राप्तिका लागि वि.सं. २०७१ सालमा प्रकृया अघि बढाएको क्याम्पसले वि.सं. २०७६ सालमा स्वअध्ययन प्रतिबेदन बुझाएको थियो । तर, विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण वि.सं. २०७८ सालमा मात्रै पियर रिभ्यू टिम क्याम्पस भिजिटमा आएको थियो ।

जिल्लाकै ज्येष्ठ र अग्रणी दिक्तेल बहुमुखी क्याम्पसमा वि.सं. २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा शुरु गरिएको थियो । सो क्याम्पसमा खोटाङसँगै ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थीसमेत अध्ययन गर्न आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया