खोटाङ, १३ भदौ । रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेशा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यवसायिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध गराएको हो ।
गाउँपालिकाबाट गत आर्थिक वर्ष विनियोजित रु पाँच लाख बजेटमा १७० थान कोरेसो र ५० थान चर्खा निर्माण गरेर वितरण गरिएको गाउँपालिका उपप्रमुख कौशिला गुरुङले जानकारी दिनुभयो । पहिलो चरणमा हौंचुरको पोखरी र चाँपखर्क, कुभिन्डेको गोपिनी तथा डुम्रोधारापानी र दुवेकोलका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
भेडाको उनबाट राडी, जमट, चकटी, अस्कोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई लक्ष्यित गर्दै चर्खा र कोरेसो वितरण गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । “धागो कात्ने सामग्री (चर्खा) बनाउने सीपको अभावले कतिपय महिलाहरु पेशा नै छाड्नुपर्ने अवस्थामा पुगेका थिए । कोरेसो प्रत्येक व्यवसायीलाई र चर्खा दुई तीन जनाले चलाउन पाउनेगरी वितरण गरिएको छ ।”, उहाँले भन्नुभयो, “राडीपाखी सम्बन्धी काम गर्ने राई, भुजेल, मगर समुदायका महिलालाई पनि क्रमशः चर्खा र कोरेसो उपलब्ध गराउने कार्यक्रम बनाइएको छ । यसले उनीहरुको जीविको पार्जनमा थोरै भएपनि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”
दश स्थानीय तह रहेको जिल्लामा विशेषगरी गुरुङ समुदायका महिलाले राडीपाखी बुन्ने पेशा अपनाउँदै आएका छन् । जिल्लाका कतिपय गुरुङ समुदायका महिलाले राडीपाखी बुनेर आएको आम्दानीबाटै आफ्नो घरपरिवारको गर्जो टार्ने गरेका छन् ।
जिल्लाको हौंचुर, पोखरी, चापखर्क, नेर्पा, दिम्मा, बादुङ, बुइपा, साब्रु, बाक्सिला लगायतका स्थानमा बसोबास गर्ने गुरुङ समुदायका महिलाले पुस्तौँदेखि चल्दै आएको खाडीपाखी बुन्ने पेशा अपनाउँदै आएका छन् । राडीपाखी व्यवसाय जिल्लाका गुरुङ समुदायका महिलाको नगद हात लाग्ने प्रमुख पेशाको रुपमा चिन्ने गरिन्छ ।
जिल्लामा उत्पादित अधिकांश खाडीपाखी जिल्ला बाहिर राजधानी काठमाडौँ लगायतका ठाउँहरुमा नि¥यात हुने गरेको छ । जिल्लाका महिलाहरुले आफ्नै तरिकाले परम्परागत रुपमा उत्पादन गर्दै आएका राडीपाखीलाई प्रवद्र्धन गर्न पछिल्लो समय स्थानीय तहहरुले सहयोग गर्न थालेका छन् ।