खोटाङ, १४ भदौ । जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुमा आज (बिहीबार) धार्मिक एवम् साँस्कृतिक मेला लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भालुखोला, वडा नं.–६ नेर्पाको भुलभुले दूधकुण्ड, वडा नं.–९ निर्मलीडाँडाको साप्सुढाप र बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा धार्मिक एवम् साँस्कृतिक मेला लागेको हो ।
ऋषितर्पणी पूर्णिमाको अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुमा विभिन्न ठाउँका स्थानीय बासिन्दाहरु पुगेका छन् । देउधामहरुमा लाग्ने साँस्कृतिक मेला खेतीपातीको काम सकिएपछि लाग्ने भएकाले पनि पूजाआजा गर्नेको भीड हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
किराँत र हिन्दु धर्मावलम्बीको धार्मिकस्थलका रुपमा रहेको भुलभुले दूधकुण्डमा शिव, गणेश, बुढानिलकण्ठ, तीनकन्यदेवी, सिद्धसिकारी र यलम्बरको पूजाआजा गर्नका आन्तरिक तथा बाह्य दर्शनार्थी आउने गरेका व्यवस्थापन समितिले जनाएको छ । चिताएको मनोकाङ्क्षा पूरा हुने बिश्वासमा भाकल गर्ने र दर्शन गर्नका लागि भुलभुले दूधकुण्डमा लाग्ने मेलामा प्रायः बुढापाका र केटाकेटीदेखि युवायुवती आउने गरेका छन् ।
पछिल्लो समयमा आन्तरिक तथा बाह्या पर्यटकको गन्तव्य थलो बनेको भुलभुले दूधकुण्डमा दिन दिनभर ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउदै धामीहरु नाच्ने गर्छन् । मेलामा धामीहरुका साथमा आएका आफन्तले धामी÷झाँक्रीसँगै गीत गाउँदै र नाच्दै रमाईलो गरेको दृश्य अवलोकन गर्ने दर्शकको भीड पनि उत्तिकै हुने गरेका छन् ।
परापूर्वकालदेखि जलकन्य देवीको पूजाआजा गरिँदैआइएको भालुखोलामा धामी÷झाँक्री गीत तथा ढोल, ढ्याङ्ग्रो र झ्याम्टाको आवाजले गुञ्जयमान भएको पुजारी दीर्घराज राईले बताउनुभयो । प्रचार–प्रसारको अभावमा ओझेलमा परेको भालुखोलामा धार्मिक पर्यटन प्रबद्र्धनका लागि वि.सं. २०४५ सालमा देवस्थलकारुपमा विकास गरिएको हो ।
यस्तै, ऋषितर्पणी पूर्णिमाको अवसर पारेर धार्मिक तथा पर्यटकीयस्थल साप्सुढापमा पनि ठूलो ठूला मेला लागेको स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र)का युवा नेता मिलनचन्द्र राईले जानकारी दिनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लगानीमा स्तरोन्नति गरिएको साप्सुढालमा विशेषगरी खोला तथा सिद्धसिकारीको पूजा गर्दै धामी÷झाँक्रीले शक्ति आर्जनका लागि प्रार्थना गर्ने गरेका छन् ।
साप्सुढापमा लाग्ने मेलामा खोटाङसँगै छिमेकी जिल्ला भोजपुरका स्थानीय बासिन्दासमेत आउने गरेका छन् । एकदिने मेलालाई व्यवस्थित गर्न वडा कार्यालयको संयोजनमा स्वयम्सेवक समेत परिचालन गरिएको वडाध्यक्ष दिनेश कठेतले बताउनुभयो ।
उता, जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि १६ कोष दक्षिणमा पर्ने बराहपोखरीमा समेत साँस्कृतिक मेला लागेको छ । बराहपोखरीमा लाग्ने मेला भर्न जिल्लाका दशवटै स्थानीय तह, छिमेकी जिल्लाहरु उदयपुर, भोजपुर, धनकुटा, ईलाम, ओखलढुङ्गा, सोलुखुम्बू, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चिन, भुटान लगायतका दर्शनार्थी एवम् भक्तजन आउने गरेका छन् ।
परापूर्वकालमा एउटा घरको अगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको किम्बदन्ती छ । ३३० मिटर लम्बाई र २१० मिटर चौडाई भएको यो पोखरीमा हरेक वर्षको ऋषितर्पणी पूर्णिमा, हरिबोधनी एकादसी, रामनवमी, बालाचर्तुदशी, हरितालिका तिज लगायतमा ठूलो मेला लाग्छ ।
मेलामा हुन सक्ने आपाराधिक घटनालाई न्यूनिकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको टोलीसमेत खटाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लामा लाग्ने धार्मिक तथा साँस्कृतिक मेलालाई प्रवद्र्धन गर्न स्थानीय तहहरुले समेत सहयोग गर्दै आएका छन् ।