पर्यटन प्रवद्र्धन गर्न दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’

Halesi Khabar
0 Shares

खोटाङ, १७ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ । जिल्लाका धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आगामी असोज–१७ गतेदेखि २१ गतेसम्म पाँच दिने चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।

कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि जिल्लाका दशवटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “कार्यक्रममा स्वदेश तथा विदेशका गरी ४० जना कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन् । जिल्लाका सबै स्थानीय तहको महत्व झल्किने स्थान तथा क्रियाकलाप सम्बन्धी प्रत्यक्ष चित्रकला तथा प्रदर्शनी गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रत्यक्ष चित्रकला, संस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश तथा विदेशमा गराएर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य हो । लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने दाबी गरिएको छ ।”

नगरपालिकाले विनियोजन गरेको रु १८ लाख खर्चमा हुने लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब १०० को हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने नगरपालिकाले जनाएको छ । चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज–२० गते दिक्तेलमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, विभिन्न जातजातिको साँस्कृतिक झाँकी, स्थानीय कलाकारहरुको नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरिएको जनाइएको छ ।

चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँ आर्ट ग्यालरीमा लगेर उच्च पदस्थ व्यक्तिमार्फत उद्घाटन गरेर प्रदर्शनीको योजना बनाइएको नगर प्रमुख भट्टराईले बताउनुभयो । लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनीको तयारीका बारेमा नगरपालिकाले विभिन्न पक्षसँग छुट्टाछुट्टै छलफल गर्दै उनीहरुबाट राय तथा सुझाव सङ्कलन गरिरहेको छ ।

चित्रकला कार्यशाला एवम् प्रदर्शनीका अवधिमा तयार पारिएका क्यानभासलाई सङ्ग्रहालय बनाएर राखिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले आयोजना गर्ने चित्रकला कार्यशालामा जिल्लाका छात्र÷छात्रालाई पनि सहभागी गराइने छ ।

गत चैत–१९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवम् प्रदर्शनी गर्ने निर्णय गरेको थियो । लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवानगरपालिकाका १५ वटै वडाबाट प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्व सहितका तस्वीरहरु प्राथमिकीकरण गरिसकिएको छ ।

यस्तै, जिल्लाका अन्य नौँवटा स्थानीय तहबाट प्राथमिकीकरण गरिएका धार्मिक, साँस्कृतिक तथा ऐतिहासिकस्थलका तस्वीरहरु सङ्कलन भइसकेको नगरपालिकाले जनाएको छ । दिक्तेलमा आयोजना गरिने ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रमलाई निक्कै महत्वका साथ हेरिएको छ ।

चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रमका लागि नगरपालिकाले समय तथा कार्यतालिकासमेत सार्वजनिक गरेको छ । मध्यपहाडी लोकमार्ग हुँदै नगरपालिका प्रवेश गर्ने प्रमुख प्रदेशद्धार नुनथलाबाट शुरु हुने कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले कार्यतालिका बनाएर कार्यविभाजनसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया