त्रिपन्नौँ पटक रक्तदान गर्ने बजिमयको अनुभव : जति रगत दियो, उति स्वस्थ भइँदो रहेछ !

Halesi Khabar
0 Shares

खोटाङ, १७ भदौ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार फेमिली केयर अस्पताल दिक्तेलमा उपचाररत १७ वर्षीया कविता राईलाई एक पाउण्ड रगत दान गर्नुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शंखधर साख्वाचोकका ५२ वर्षीय मन्त्री बजिमयले रक्तदान गर्नुभएको यो ५३ औँ पटक हो ।

सुत्केरी हुनेक्रममा अधिक रक्तश्राव भएर सिकिस्त बिरामी पर्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी कविताको जीवन मन्त्री बजियमले प्रदान गर्नुभएको एक पाउण्ड रगतले बच्न सफल भएको छ । महिना नपुगी (गर्भवती भएको छ महिनामा) सुत्केरी हुनुभएकी कविताको अवस्था अहिले सामान्य बन्दै गएको अस्पतालका प्रमुख डा. कृष्णकुमार राई ‘केके’ले जानकारी दिनुभएको छ ।

मन्त्री बजिमयले पहिलो पटक ३० वर्षको उमेरमा रक्तदान गर्नुभएको थियो । सत्र वर्षअघि रेडक्रसका आजीवन सदस्य बन्नुभएका मन्त्री बजियमयले वि.सं. २०६० सालमा पहिलो पटक साबिक टेम्मा गाविस हाल दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी शारदा मगर (राई)लाई रक्तदान गर्नुभएको थियो ।

उसबेला रक्तदान गर्न अस्पताल पुग्दा स्वास्थ्यकर्मीले नै विभिन्न डर, त्रास तथा भ्रम सिर्जनना गर्ने गरेको मन्त्री बजिमयले स्मरण गर्नुभयो । “टेम्माकी शारदा मगर (दिदी) अधिक रक्तश्राव भएर अस्पताल आउनुभएको रहेछ । धामी÷झाँक्री लगाउँदै गाउँमै बस्नुभएकी उहाँ (शारदा मगर)लाई रगत दिनुपर्ने भयो”, उहाँले भन्नुभयो, “अन्तिम अवस्थामा पुग्नुभएकी उहाँलाई रक्तदान गर्न जाँदा स्वास्थ्यकर्मीले नै नदिन आग्रह गरेका थिए । ‘रक्तदान, जीवनदान’ भन्ने नारा सम्झेर मैले उहाँलाई दिएँ ! अहिलेसम्म उहाँ जीवित हुनुहुन्छ । ती दिदीले अहिले पनि बेला–बेला फोन गर्नुहुन्छ । उहाँका छोराछोरी मामा भन्दै भेट्न आउँछन् । यसैमा आनन्दित छु ।”

रेडक्रसमा दोस्रो कार्यकालका लागि मन्त्री चयन भएर काम गरिरहनुभएका बजिमय कसैलाई रक्तदान गर्न पाउँदा आफूलाई सबैभन्दा आनन्दित महसुस हुने गरेको बताउनुहुन्छ । “मैले दिएको रगतले धेरैको ज्यान बँचेको छ । उहाँहरुले आफूलाई ठीक भइसकेपछि फोन तथा भेटेर धन्यवाद दिने गरेका छन् । यो नै सबैभन्दा बढी खुशीको क्षण लाग्छ मलाई !”, उहाँले भन्नुभयो, “रातको बाह्र÷एक बजे उठेरसमेत रगत दिने गरेको छु । रक्तदान गर्नु आफ्नै लागिसमेत फाईदा हुँदो रहेछ । अहिलेसम्म मलाई कुनै रोग छैन ।”

उमेरले साथ दिएसम्म रक्तदान गर्ने योजनामा रहेको मन्त्री बजियलयले बताउनुभएको छ । ”म अहिले ५२ वर्षको भएँ ! ६० वर्षसम्म रक्तदान गर्न मिल्छ । कम्तिमा १०० पटक रक्तदान गर्ने मेरो लक्ष्य थियो । रक्तदान गरेको तीन महिनापछि पुनः दान गर्न मिल्छ । तर, जिल्लामा स्थापना गरिएको रक्त सङ्कलन केन्द्रको भण्डारण गृह कम क्षमताको छ । क्षमता कम भएकै कारण रक्त सङ्कलन केन्द्रले मलाई जगेडाकोषको रुपमा बस्न आग्रह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “अब मैले २४ पटकमात्र रक्तदान गर्न मिल्छ । यसले मेरो १०० पटक रक्तदान गर्ने उद्धेश्य प्राप्त गर्न सक्ने सम्भवान भएन । तर, पनि यो बीचमा धेरैको ज्यान बँचाउन सकेकोमा खुशी छु ।”

जिल्लामा अहिले पनि अधिकांश मानिसहरु रक्तदान गर्न डराउने गरेको मन्त्री बजिमयले बताउनुभयो । “चेतनाको अभावले अधिकांश मानिसहरु अझै पनि रक्तदान गर्न मान्दैनन् । रक्तदान गर्दा आफ्नो लागिसमेत फाइदा हुन्छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा गाउँगाउँमा रक्तदान सम्बन्धी सचेतना गोष्ठी सञ्चालन गर्ने तयारीमा छौँ । यसले रगत अभावकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाबाट जिल्लाबासीले मुक्ति पाउँछन् ।”

दश स्थानीय तह रहेको जिल्लामा यसअघि स्थापना गरिएको रक्त सङ्कलन केन्द्र अहिले अवरुद्ध रहेको छ । दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङको कार्यालय परिसरमा रहेको रक्त सङ्कलन केन्द्र हप्ता दिनअघिदेखि अवरुद्ध हुँदा रगत आवश्यक पर्ने बिरामीका आफन्तहरु आफ्नै आफन्त तथा सेना र प्रहरी गुहार्नुपर्ने अवस्थामा छन् ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले सञ्चालन गर्दै आएको रक्त सङ्कलन केन्द्रका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । अवरुद्ध रक्त सङ्कलन केन्द्रको फ्रिज पुनः मर्मत गरेर केही दिनमै सञ्चालनमा ल्याएपछि रेडक्रसलाई हस्तान्तरण गर्ने तयारी गरिएको नगर स्वास्थ्य शाखा निरीक्षक खेमराज आचार्यले बताउनुभयो ।

व्यक्ति तथा संस्थाबाट सङ्कलन गरिएका रगत भण्डारण गरेर राखिने फ्रिज बिग्रिएपछि रक्त सङ्कलन केन्द्रमा रगत नहुँदा कतिपय बिरामीलाई बाहिरी जिल्ला रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । भौगोलिक रुपमा बिकट मानिएको खोटाङमा सुत्केरी हुन अस्पताल आउने अधिकांश महिलालाई रगत दिनुपर्ने अवस्था रहेको रेडक्रसले जनाएको छ ।

तपाईको प्रतिक्रिया