पत्रकारको नाममा जथाभावी नलेख्न गिरीलाई चार पत्रकार सङ्गठनको चेतावनी

Halesi Khabar
0 Shares

खोटाङ, २० भदौ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङसहित चार पत्रकार सङ्घ÷सङ्गठनले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मनोज गिरीलाई पत्रकारको नाममा जथाभावी नलेख्न चेतावनी दिएको छ । गिरीले पत्रकारिताको आडमा सामाजिक सञ्जाल फेसबुकमार्फत जथाभावी स्टाटस लेखेर र भिडियोमा बोलेर पत्रकारिताको गरिमामाथि आँच पु¥याएको भन्दै नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता पालना गर्न सचेत गराएका हुन् ।

गिरीले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अफवाह फैलाउने, अरुको मानमर्दन गर्ने, खेदो गर्ने, ‘म पत्रकार हुँ’ भन्दै थर्काउने, गालीगलौज गर्ने र बिना अनुमति टेलिफोन सम्वाद रेकर्ड गरेर फेसबुकमा राख्ने गरेकोप्रति पत्रकार सम्वद्ध सङ्गठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पत्रकार महासङ्घका अध्यक्ष दिलीप खत्री, प्रेस युनियनका सभापति उत्तम चौंलागाई, प्रेस चौतारी नेपालका अध्यक्ष सीताराम राई ‘सञ्जिव’ र प्रेस सेन्टर नेपालका अध्यक्ष रामधन राईले जारी गरेको विज्ञप्तिमा गिरीले खोटाङमा ‘म मात्रै पत्रकार हुँ, सबथोक मै हुँ, म मात्रै जान्ने छु, अरु सबै गलत हुन्’ भन्ने शैलिमा सिङ्गो पत्रकारितामाथि धावा बोलेको उल्लेख छ ।

गिरीले जस्तै जथाभावी जवाफ लेखेर फेसबुकमा प्रतिक्रिया जनाउँदा दोहोरी खेलेजस्तो देखिने तर, चुप बस्दा पनि गिरीले लगाएको आक्षेप स्वीकार गरेजस्तो देखिने भएपछि आफ्नो धारणा सार्वजनिक गर्न बाध्य हुनु परेको महासङ्घका अध्यक्ष खत्रीले बताउनुभयो । “अरुलाई गाली बेइज्जती गर्ने, आतङ्क फैलाउन खोज्ने, धम्की दिने प्रवृत्ति किमार्थ पत्रकारिताको मूल्य र मान्यताभित्र नपर्ने स्पष्ट गराउन चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ, “आम समुदायलाई भ्रमको पछाडि नलाग्न, फेसबुकमा लेखेको स्टाटसलाई हेरेर धारणा बनाउनुभन्दा आधिकारिक सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण भएका सूचनामा भर पर्न सबैमा आव्हान गर्दछौँ ।”

पछिल्लो समय सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अफवाह फैलाउने, भ्रम छर्ने र समाजलाई ‘मिसलिड’ गर्ने प्रवृत्ति मौलाइरहेको भन्दै पत्रकार सम्वद्ध संगठनहरुले चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट भएका स्टाटसहरुको सत्यतथ्य नबुझी धारणा बनाउँदा गलत सोच तथा विचारको विकास भइरहेको विज्ञप्तिमा भनिएको छ । गिरीले अर्काको शैक्षिक योग्यताको प्रमाणपत्र फोटोसपमार्फत आफ्नो नामको बनाएर हलेसीपाटी डटकम दर्तागरी सञ्चालन गर्दै आएका छन् ।

गिरीले समाचारभन्दा पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्ने गरेका छन् । तर, उनले कतिपयलाई गाली गर्ने, होच्याउने, मानमर्दन गर्ने र ‘सबथोक मै हुँ’ भन्ने शैलिमा स्टाटस लेख्ने गरेको देखिन्छ ।

गिरीले जिल्लामा क्रियाशील अरु पत्रकार बिरुद्ध ‘पार्टीको झोले’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा तथानाम गाली लेख्ने गरेका छन् । गिरीले सोही स्थानका कुभेसचन्द्र गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र (स्नातक तहको प्रमाणपत्र)लाई फोटोसपमार्फत आफ्नो नामको बनाएर प्रयोग गरेकामा किर्ते जालसाजी मुद्धा अन्तरगत जिल्ला अदालत खोटाङबाट वि.सं. २०७९ माघ–१९ गते दोषी ठहर भइ २० दिन कैद र रु तीन हजार जरिवाना सजाय भोगिसकेका छन् ।

तपाईको प्रतिक्रिया