खोटाङ, २४ भदौ । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका क्रममा विभेदपूर्ण हिसाबले मनोमानी गरेको भन्दै प्रेस चौतारीमा आबद्ध पत्रकारहरु आइतबार पत्रकार महासङ्घको कोशी प्रदेश कार्यालयमा तालाबन्दी गरेको हो ।
माग पूरा नभएसम्म महासङ्घको कार्यालयमा लगाएको ताला नखोलिने चौतारीका अध्यक्ष अविजाल बिष्ट बताउनुभयो छ । “जबसम्म कोशी प्रदेशमा कार्यरत श्रमजीवी तथा दक्ष पत्रकारहरुले सदस्यता पाउँदैनन् र सदस्यता पाएकाहरुको नवीकरण गरिँदैन । तबसम्म तालाबन्दी कायम रहने”, उहाँले भन्नुभयो, “पत्रकार महासङ्घले विभिन्न जिल्लाको सदस्यता शुद्धीकरणका नाममा मापदण्ड मिचेर नाम सिफारिस गरेकाले कोशी प्रदेशमा प्रेस चौतारी आन्दोलित छ । वार्ताको माध्यमबाट समस्या समाधान गरिनुपर्छ ।”
सदस्यता शुद्धीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर नाम सिफारिस गरेको चौतारीको आरोप छ । पत्रकारको सदस्यता शुद्धीकरण तथा नवीकरणका लागि पत्रकार महासङ्घमा पठाइएको नाम छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने प्रेस चौतारीले माग गर्दै आएको छ ।
पत्रकार महासङ्घमा आबद्ध केही पदाधिकारीले पूर्वाग्रही ढङ्गले, राजनीतिक आस्था भएकै कारण गैरपत्रकारको समेत नाम शुद्धीकरणका लागि सिफारिस गरेको चौतारीको आरोप छ । महासङ्घको केन्द्रीय समितिले पारित गरेको १५ बुँदे मापदण्ड हु–बहु पालना हुनुपर्ने चौतारीको माग छ ।