स्वर्गीय नेता नेम्वाङप्रति खोटाङका राजनीतिक दलद्धारा श्रद्धाञ्जलि अर्पण ! (तस्वीरसहित)

Halesi Khabar
0 Shares

खोटाङ, २७ भदौ । नेपाल कम्युष्टि पार्टी (एमाले)का उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङप्रति खोटाङमा क्रियाशील सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेकपा एमाले खोटाङले पार्टी कार्यालयमा आयोजना गरेको श्रद्धाञ्जलि अर्पण कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय प्रजातन्त्र पार्टी, नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत जिल्लामा क्रियाशील राजनीतिक दलका नेता तथा कार्यकर्ताले स्वर्गीय नेता नेम्वाङको तस्वीरमा माल्र्यापणगरी आज (बुधबार) श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

दिक्तेलस्थित एमाले पार्टी कार्यालय रहेको पुष्पलाल स्मृति भवनमा आयोजित कार्यक्रममा काँग्रेसका जिल्ला सभापति विष्णुकुमार राई, माओवादी केन्द्रका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज बबि चाम्लिङ, राप्रपाका जिल्ला अध्यक्ष ललितकुमार राई ‘जीवन’, नेकपाका जिल्ला ईन्चार्ज सञ्जिव मगर, साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राई लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी नेताहरुले नेम्वाङको निधनले देशलाई ठूलो क्षति पुगेको भन्दै दुःखसमेत व्यक्त गरेका छन् ।

श्रद्धाञ्जलि अर्पण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले एमाले खोटाङले राखेको स्वर्गीय नेता नेम्वाङको शोक पुस्तिकामा हस्ताक्षरसमेत गरेका छन् । नेता नेम्वाङको निधनप्रति एमालेले देशभर तीन दिनसम्म शोक मनाउने निर्णय गरेअनुसार खोटाङमा पनि पार्टीको झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरिएको एमाले खोटाङका सचिव कुमार आचार्यले जानकारी दिनुभयो ।

नेता नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाट काठमाडौँमा गरिने भएको छ । नेता नेम्वाङको निधनप्रति सरकारले बिहीबार एक दिन सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ ।

नेता नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको जनाइएको छ । उहाँलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लानेक्रममा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेता नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट निजी निवास बालुवाटार लगिएको जनाइएको छ । बुधबार उहाँका छोराहरू विदेशबाट नेपाल आइपुगेपछि पार्टी कार्यालयमा राखिएको नेता नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि निजी निवास बालुवाटारमा लगिएको हो ।

तपाईको प्रतिक्रिया