साकेलामा टोलस्तरीय घुम्ती शिविर : बाँझेच्यानडाँडाका ७५८ जनाले लिए सेवा

Halesi Khabar
0 Shares

खोटाङ, २८ भदौ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट ७५८ जना नागरिकले सेवा लिएका छन् । भौगोलिक बिकटताका कारण गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने नागरिकलाई मध्यनजर गर्दै टोलटोलमा आयोजना गरिएको घुम्ती शिविरबाट २४३ ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, २९० जनाको स्वास्थ्य परीक्षण एवम् औषधि वितरण र २५५ घरधुरीले जग्गाको कर बुझाएका छन् ।

सेवाग्राहीलाई गाउँमै सेवा दिने लक्ष्यका साथ टोलस्तरमा सरकारी सेवाको प्रबन्ध मिलाइएको बाँझेच्यानाडाँडाका वडाध्यक्ष हेमन राईले बताउनुभएको छ । “गाउँपालिकाको अन्य वडाको तुलनामा यो वडा भौगोलिक रुपमा बिकट र ठूलो भएका कारण विभिन्न सेवाहरु टोलस्तरबाट प्रदान गर्ने कोशिस गरिएको छ”, उहाँले भन्नुभयो, “भौतिक विकास सँगसँगै सरकारबाट प्रदान हुने सेवाहरु क्रमिक रुपमा प्रदान गरिनेछ । टोलस्तरीय घुम्ती शिविरबाट सामाजिक सुरक्षा भत्ता नवीकरण, प्राथमिक स्वास्थ्य सेवा र भूमि कर सङ्कलन सम्बन्धी सेवा पाउँदा नागरिक हर्षित बनेका छन् ।”

भौगोलिक रुपमा बिकट टोलहरुमा पुगेर टोलस्तरीय शिबिरका लागि वडा सचिव नमी राई, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राई, वडाका अन्य कर्मचारी तथा स्वास्थ्यकर्मीको टोली खटिएका थिए । जिल्लाको सबैभन्दा सानो (पाँच वडामात्र रहेको) साकेला गाउँपालिकाले यसअघिबाटै सबै वडामा टोलस्तरीय घुम्ती शिविर सञ्चालन गर्दै आएको छ ।

जनताको आवश्यकतालाई पहिचान गर्दै अन्य वडामा पनि क्रमिक रुपमा टोलटोलबाटै सेवा प्रदान गरिने गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभयो । “सङ्घीयता जनताका लागि लागू गरिएको हो । उनीहरुले महसुस गर्नेगरी सेवा दिन सकिएन भने सङ्घीयताको कुनै अर्थ हुँदैन”, उहाँले भन्नुभयो, “राज्यको पहुँचभन्दा टाढा तथा भौगोलिक रुपमा बिकट मानिएका बस्तीहरुमा घुम्ती शिविरको आयोजना गरेर सेवा दिने प्रयास गरिरहेका छौँ । आफ्नै ठाउँमा सेवा लिन पाउँदा उनीहरु पनि हर्षित बनेका छन् ।”

साकेला गाउँपालिकाले जिल्लामै पहिलो पटक घुम्ती शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण शुरु गरेको थियो । कर्मचारीले वितरण गर्दै आएको सामाजिक सुरक्षाभत्तामा चरम लापरबाही भएको पाइएपछि टोलटोलमा घुम्ती शिविर सञ्चालन गरेर बैङ्किङ प्रणालीमार्फत वितरण शुरु गरिएको हो ।

साकेलामा एउटै व्यक्तिको नामबाट तीन जनासम्मले सामाजिक सुरक्षाभत्ता लिने गरेको पाइएको थियो । सामाजिक सुरक्षाभत्ता वितरणमा कर्मचारीले आर्थिक अनियमितता गरेको खुलासा भएपछि गाउँपालिकाले गठन गरेको छानबिन समितिले उक्त व्यक्ति सो गाउँपालिकामै नभेटेको प्रतिवेदन बुझाएको थियो ।

साकेला गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता वितरणमा आर्थिक अनियमितता भएको पाइएपछि जिल्लाका दशवटै स्थानीय तहमा उक्त अनियमितता रोक्न बैङ्किङ प्रणाली लागू गरिएको छ । लाभग्राहीलाई सुविधा दिन सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा सञ्चालित बैङ्कसँगैको सहकार्यमा हरेक तीन÷तीन महिनाको अवधिमा शिविर सञ्चालन गरेर वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरिरहेका छन् ।

स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरण कार्यलाई बैङ्किङ प्रणालीमा लगेपछि राज्यको करोडौँ रकम हिनामिना हुनबाट बँचेको छ । सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली लागू गरिएपछि सम्बन्धित व्यक्तिले मात्र उक्त सुविधा पाएका छन् ।

तपाईको प्रतिक्रिया