‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…

Halesi Khabar
0 Shares

खोटाङ, २८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हिमाल आचार्यले बिहान नौँ बजे बुबा, आमा र आफ्नो तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर ‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिनुभएको थियो । सत्र वर्षीय हिमालले आफ्नो फेसबुकमा “बुबाको मुख हेर्ने दिनको धेरै–धेरै शुभकामना बाबा ! सदैब हजुरको दीर्घायु र खुशीको कामाना गर्दछु । भगवान सङ्ग यो नै प्राथाना छ कि, हजुरको सबै नराम्रो र खराब समयको अन्त्य भइ सँधैभर खुशी मिलोस ! हरेक औँशीमा हजुरलाई स्वस्थ र खुशी हेर्न पाइराखुम । अहिलेको यो जटिल समयको चाँडै अन्त्य होस र हजुरलाई शीघ्र स्वास्थ लाभको कामना बाबा !” भनेर लेख्नुभएको थियो ।

हिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बुबाको दीर्घायु र स्वास्थ्य लाभको कामना गरेको केही क्षणमै उहाँका बुबा चन्द्रप्रसाद आचार्यको मृत्यु भएको खबर प्राप्त भयो । जिल्ला अस्पताल खोटाङमा उपचार सम्भव नभएपछि आफैले काठमाडौँ रिफर गरिमागेर काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहनुभएका चन्द्रप्रसादको निधन भएको खबरले अहिले गाउँ नै शोकमग्न भएको छ ।

हप्तादिनअघि सामान्य बिरामी पर्नुभएका चन्द्रप्रसाद छ दिनअघि उपचारका लागि जिल्ला अस्पताल खोटाङमा भर्ना हुनुभएको थियो । जिल्ला कारागार खोटाङको सह–लेखापाल पदमा कार्यरत चन्द्रप्रसादको काठमाडौँ पुगेको तीनदिनपछि बिहीबार बिहान करिब पौँने नौँ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङका साधारण सदस्यसमेत रहनुभएका चन्द्रप्रसाद सेवाप्रति इमानदार, कर्तव्यनिष्ठ र मिलनसार कर्मचारी रहेको सङ्गठनका केन्द्रीय सदस्य मोहन भट्टराईले बताउनुभयो । “देशभर साढे ८६ हजार निजामती कर्मचारी कार्यरत छन् । हाम्रो सङ्गठनका साधारण सदस्य चन्द्रप्रसाद आचार्य सयजनाभित्र पर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अल्पायुमै उहाँ (चन्द्रप्रसाद आचार्य)को निधन हुनु दुखद् हो । देशले एउटा इमानदार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारी गुमाएको छ ।”

चन्द्रप्रसादको निधनले आचार्य बङ्शकै इमानदार र सामाजिक व्यक्तित्व गुगेको नेपाल पत्रकार महासङ्घका केन्द्रीय परिषद सदस्य एवम् प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिबोल आचार्यले बताउनुभयो । “दाजु चन्द्रप्रसाद आचार्य राष्ट्रसेवक कर्मचारीमात्र नभइर सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो । हामीले आचार्य बङ्शकै इमानदार र सामाजिक व्यक्तित्व गुमाउनुपरेको छ”, उहाँले भन्नुभयो, “राम्रा मान्छेको नै छिटो मृत्यु हुँदो रहेछ ! दाजुको निधन भएको खबर सुन्नासाथ गाउँ नै शोकमग्न छ ।”

मृतक चन्द्रप्रसादको शव अन्तिम दाहसँस्कारका लागि दिक्तेल ल्याउने तयारी भइरहेको जनाइएको छ । निमोयिाका कारण निधन भएका ४५ वर्षीय चन्द्रप्रसादको घरमा श्रीमती तथा एक छोरा र एक छोरी रहेको भाइ जीवन आचार्यले जानकारी दिनुभयो ।

घर खर्चका लागि कमाइ गर्ने अभिभावक (चन्द्रप्रसाद)को अल्पायुमै निधन भएपछि आश्रित परिवारको बिचल्ली छिमेकीले बताएका छन् । मृतक चन्द्रप्रसादको छोरा हिमाल १७ वर्षका छन् भने, छोरी हिमाञ्जली १४ वर्षकी छन् ।

तपाईको प्रतिक्रिया