कोशीका मन्त्री मेन्याङ्बोमाथि पहिचान पक्षधरद्धारा दुव्र्यवहार

Halesi Khabar
0 Shares

खोटाङ, ४ असाज । कोशी प्रदेशका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थमन्त्री तीलककुमार मेन्याङ्बोलाई खोटाङका पहिचान पक्षधरले बिहीबार कालो झन्डा देखाएका छन् । चरणवद्ध आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले मन्त्री मेन्याङ्बोलाई जिल्ला अस्पताल खोटाङको निरीक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलको हस्पिटल चोकमा कालो झन्डा देखाएका हुन् ।

कालो झन्डा देखाउने र सुरक्षाकर्मीबीच झडप हुँदा किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, किरात युवा फोर्सका संयोजक निर्मल राई, मुल सङ्घर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ लगायत घाइते भएका छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै पहिचान पक्षधर नेता तथा कार्यकर्ताले प्रहरी प्रशासनबिरुद्ध नाराबाजीसमेत गरेका थिए ।

निर्माणाधीन जिल्ला अस्पताल खोटाङको भवन निरीक्षण तथा अनुगमन गरेर मन्त्री फर्कने बाटो क्लियर गर्ने क्रममा झडप भएको खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले बताउनुभयो । “घटनास्थलमा म आफै पनि उपस्थित थिएँ । मन्त्री ज्यू फर्कनेक्रममा आन्दोलनकारी र प्रहरीबीच सामान्य धकेला–धकेल भएको भयो”, उहाँले भन्नुभयो, “आन्दोलनमा सहभागी केही साथीहरु घाइते भएका छन् भन्ने सुनिएको छ । उहाँहरुलाई बोलाएर छलफल गर्ने योजना बनाएको छु ।”

प्रहरी हस्तक्षेपछि पहिचान पक्षधर नेता तथा कार्यकर्ताको आकस्मिक बैठक अहिले जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बसिरहेको छ । उनीहरुले पहिचान बिरोधी कोशी नाम राख्नमा संलग्न मन्त्री तथा प्रदेशसभा सदस्य जोसुकैलाई जिल्ला प्रवेशमा रोक लगाउने बताउँदै आएका छन् ।

चरणवद्ध कार्यक्रम घोषणा गरेर आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले कोशी नाम खारेज गरेर पुनः नामाकरण गर्न माग गरिरहेको छ । प्रदेशको नाम परिवर्तन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने किरात युवा फोर्सका संयोजक राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया